काठमाडौँ – निर्वाचन आयोग नेपाल ले निर्वाचनलाई थप सहभागितामूलक बनाउँदै बदर मतको प्रतिशत घटाउने उद्देश्यसहित देशव्यापी मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ ।
आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने लक्ष्यसहित आयोगले फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको जनाएको छ ।
स्वयंसेवकहरू आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान गर्ने तरिकाबारे जानकारी गराइरहेका छन् । कार्यक्रम प्रभावकारी बनाउन आयोगले स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताका रूपमा जिम्मेवारी दिई अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको छ ।
आचारसंहिता उल्लङ्घनमा निगरानी कडा
निर्वाचन आचारसंहिताविपरीत मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति फैलाउने गतिविधिमाथि आयोगले कडा निगरानी गरिरहेको जनाएको छ । आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवद्र्धन एकाइ पूर्ण रूपमा सक्रिय रहेको छ।
हानिकारक सूचना उत्पादन वा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरो मा उजुरी गरिएको छ ।
यसैगरी, ११ वटा प्रकरण नेपाल दूरसञ्चार प्राधिकरण मा दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि पठाइएको छ भने ६५ वटा विषयवस्तु प्रेस काउन्सिल नेपाल मा प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि सिफारिस गरिएको छ। साथै, एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।
आयोगले स्वतन्त्र, निष्पक्ष र मर्यादित निर्वाचन सुनिश्चित गर्न मतदाता शिक्षा र आचारसंहिता कार्यान्वयन दुवैलाई समान प्राथमिकताका साथ अघि बढाइएको स्पष्ट पारेको छ ।



