स्थानीय र प्रदेश निर्वाचन केन्द्रित ‘मिसन जागरण’मा एमाले

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत पार्टीले केन्द्रीय सदस्यहरूलाई देशभर परिचालन गर्ने निर्णय गरेको छ ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी निर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्ने, मतदातासँगको सम्बन्ध सुदृढ बनाउने तथा संगठनलाई थप सक्रिय बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

पार्टीले जनतासँगको सम्बन्ध सुधार र विस्तारका लागि ‘६ ज’ नीति अघि सारेको छ । यसअन्तर्गत ‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य तथा सक्षम नेतृत्व तयार गरौँ’ भन्ने मूल नारासहित कार्ययोजना कार्यान्वयनमा ल्याउन लागिएको आचार्यले बताए ।

उनका अनुसार अभियानमार्फत पार्टीका केन्द्रीय सदस्यहरूलाई जनस्तरसम्म पुगेर जनताका गुनासा, सुझाव र अपेक्षा संकलन गर्न, संगठनलाई सुदृढ बनाउन तथा आगामी निर्वाचनका लागि सक्षम नेतृत्व पहिचान गर्न जिम्मेवारी दिइएको छ ।

एमालेले ‘मिसन जागरण’लाई आगामी निर्वाचनको तयारीसँगै जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ ।