गुल्मी, – नेपाल वायु सेवा निगम ले गुल्मीस्थित रेसुङ्गा विमानस्थल मा हुँदै आएको हवाई उडान तालिकामा परिवर्तन गरेको छ। यससँगै अबदेखि यहाँ सातामा तीनपटक मात्र उडान हुने भएको छ ।
यसअघि निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । नयाँ तालिकाअनुसार अब आइतबार, मङ्गलबार र शनिबार मात्रै उडान हुने स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
निगमसँग हाल तीनवटा मात्रै ट्वीनअटर जहाज रहेको र ती जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएकाले जहाज अभावका कारण केही समयका लागि नियमित तालिकामा परिवर्तन गरिएको उनले बताए । वर्षात्, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिनादेखि विमानस्थलमा नियमित उडान भइरहेको छ।
रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे उडान हुँदै आएको छ । काठमाडौँ–गुल्मी भाडा रु ७ हजार ५०० र गुल्मी–काठमाडौँ भाडा रु ७ हजार ३०० निर्धारण गरिएको छ । दिउँसो अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान हुने गरिएको छ ।
जिल्लामा हवाई सेवा सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि राजधानी पुग्न करिब १८ घण्टा लाग्ने यात्रालाई अब ४५ मिनेटमै पूरा गर्न सकिने भएपछि स्थानीयलाई सहज भएको छ ।
यात्रु चाप बढ्दै गए पनि उडान सङ्ख्या कम हुनु र तालिकामा परिवर्तन भइरहनुले स्थानीयलाई समस्या परेको गुनासो छ। रेसुङ्गा विमानस्थलमा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई सेवा सुरु गरेको थियो ।



