सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने 

काठमाडौँ, जेठ ८ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ ।
परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरण गर्ने जानकारी दिनुभयो । अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ । सातवटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झन्झट नहुने भएको छ ।
उहाँका अनुसार सातवटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदै छ ।
परिषद्ले कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटाँैडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट वितरण गर्नेछ । ट्रान्सक्रिप्ट, लब्धाङक पत्र र माइग्रेसनका लागि विद्यार्थीले अनलाइन फाराम भर्ने र फाराम भरिसकेपछि विद्यार्थीको मोबाइलमा जानकारी आउनेछ । सोही जानकारी आधारमा विद्यार्थीले आफ्नो कागजात लिन सकिने उहाँले बताउनुभयो ।
यसैगरी, परिषद्ले परीक्षा फाराम पनि अनलाइन गर्ने भएको छ । परिषद्ले प्री डिप्लोमा तथा डिप्लोमा कक्षा सञ्चालन गरिरहेको छ ।