काठमाडौं – भारतीय बजारमा देखिएको निर्यात अवरोधका कारण नेपाली चिया उद्योग संकटमा परेका छन् । चिया उद्योगीहरूको संस्था ‘टी एलायन्स अफ नेपाल’ मा आबद्ध १६ वटा उद्योगले आगामी असार ४ गतेदेखि चिया प्रशोधन तथा उत्पादन कार्य बन्द गर्ने निर्णय गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै भारतीय बजारमा हाल लागु गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण व्यवस्थाले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेपछि उद्योगहरु बन्द गर्नु परेको संस्थाका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी गराए ।
उनका अनुसार नेपाली चिया निर्यातका लागि भारतमा नयाँ परीक्षण प्रणाली लागू भएपछि बिक्री प्रक्रिया प्रभावित भएको छ । तयार चिया उद्योगमै थन्किँदै गएको, दोहोरो परीक्षणका कारण लागत बढेको र भण्डारणको समस्या बढ्दै गएपछि उद्योग सञ्चालन कठिन भएको उनीहरूको भनाइ छ ।
“उत्पादन जारी राख्न आवश्यक पुँजी व्यवस्थापन गर्न कठिन भइरहेको छ । तयार चियाको मौज्दात बढेपछि किसानबाट हरियो पत्ती खरिद गर्ने क्षमता समेत घट्दै गएको छ,” उनले बताए ।
उद्योग बन्द हुँदा किसान र श्रमिक प्रभावित हुने
चिया उद्योग बन्द गर्ने निर्णयले उद्योगी मात्र होइन, हजारौँ किसान र श्रमिक प्रभावित हुने अवस्था देखिएको छ ।
नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चिया हजारौँ किसानको मुख्य आम्दानीको स्रोत हो। उद्योगहरूले हरियो पत्ती खरिद नगरेमा किसानको उत्पादन बिक्रीमा समस्या आउने र ग्रामीण अर्थतन्त्रमा समेत असर पर्ने उद्योगीहरूको भनाइ छ ।
त्यस्तै, चिया प्रशोधन उद्योगमा काम गर्ने श्रमिकको रोजगारी पनि जोखिममा पर्ने देखिएको छ ।
भारतमुखी बजारले बढायो जोखिम
नेपाली चियाको ठूलो हिस्सा भारतीय बजारमा निर्भर छ । उद्योगीहरूले एकै बजारमा अत्यधिक निर्भर हुँदा पटक–पटक समस्या दोहोरिएको बताएका छन् ।
टी एलायन्सले गुणस्तर परीक्षण र खाद्य सुरक्षाको मापदण्डको विरोध नगरे पनि व्यापार अवरुद्ध हुने गरी प्रक्रिया लागू गरिनु गलत भएको जनाएको छ ।
संस्थाले सरकारलाई भारतसँग तत्काल कूटनीतिक संवाद गरी समस्या समाधान गर्न आग्रह गरेको छ ।
साथै नेपाली चियाका लागि युरोप, अमेरिका, चीन, जापान, दक्षिण कोरिया र मध्यपूर्वका नयाँ बजार विस्तार गर्न राष्ट्रिय रणनीति बनाउनुपर्ने माग गरेको छ ।
संसद्मा पनि उठ्यो चिया संकट
पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा देखिएको अवरोधको विषय राष्ट्रियसभामा समेत उठेको छ ।
राष्ट्रियसभाको बैठकमा सांसद सोमनाथ पौडेलले भारतीय पक्षबाट सिर्जना भएको समस्याका कारण नेपाली चिया उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले कूटनीतिक र प्रशासनिक पहलमार्फत तत्काल समाधान खोज्नुपर्ने बताए ।
अब सरकारमाथि तत्काल समाधानको दबाब
चिया उद्योगहरूले असार ४ देखि उत्पादन बन्द गर्ने निर्णय कार्यान्वयन गरेमा यसको असर चिया आपूर्ति शृंखलादेखि किसान, श्रमिक र निर्यात आम्दानीसम्म पर्ने देखिन्छ ।
नेपालको कृषि निर्यातमा महत्वपूर्ण हिस्सा ओगटेको चिया क्षेत्र जोगाउन सरकारले तत्काल पहल गर्नुपर्ने दबाब बढेको छ ।
भारतीय बजारमा देखिएको अवरोध तत्काल समाधान नभए नेपाली चिया उद्योग लामो समयसम्म प्रभावित हुने जोखिम देखिएको छ ।



