आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर, – भौगोलिक विकटताका कारण आधारभूत स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएका स्थानीयलाई लक्षित गर्दै टेम्केमैयुङ गाउँपालिका ले दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका नौवटै वडामा एक–एक स्वास्थ्य चौकी रहे पनि टाढा दूरीका कारण सेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेका बस्तीलाई लक्षित गर्दै छ स्थानमा स्वास्थ्य इकाइ स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेत का अनुसार आवश्यक परेको अवस्थामा तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने, सामान्य औषधि वितरण गर्ने, प्राथमिक उपचार गर्ने तथा जटिल अवस्थाका बिरामीलाई सल्लाहसहित अन्यत्र रेफर गर्ने उद्देश्यले इकाइ सञ्चालन गरिएको हो ।

“भौगोलिक विकटताका कारण जनतालाई समयमै स्वास्थ्य सेवा लिन समस्या भइरहेको थियो,” अध्यक्ष बस्नेतले भने, “स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन छ वटा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएका छौँ। आगामी दिनमा सेवाको गुणस्तर र पहुँच दुवै विस्तार गर्ने योजना छ ।”

हाल वडा नं. १ तिम्माको खम्बुखा, वडा नं. २ का रुमला र वादुङ्ला, वडा नं. ५ खावाको चोलन्ती तथा वडा नं. ९ लेखर्कका वैराङ र काभ्रेमा स्वास्थ्य इकाइ सञ्चालनमा छन्। ती स्थानमा आधारभूत औषधि, प्राथमिक उपचार तथा आवश्यक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइँदै आएको जनाइएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राई ले दुर्गम भेगका नागरिक सामान्य औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य इकाइ स्थापना गरिएको बताए । उनका अनुसार स्वास्थ्य सचेतना अभिवृद्धि, नियमित खोप सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

स्थानीयवासी गोरखबहादुर विष्टका अनुसार गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सामान्य औषधिका लागि घण्टौँ धाउनुपर्ने बाध्यता हटेको छ । “पहिले सामान्य ज्वरो आउँदा पनि स्वास्थ्यचौकी पुग्न आधा दिन लाग्थ्यो,” उनले भने, “अहिले गाउँमै उपचार पाउँदा निकै सहज भएको छ।”

दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचमा ल्याउने उद्देश्यसहित सुरु गरिएको अभियानबाट स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।