काठमाडौँ – निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्ने उद्देश्यले आयोगले यस्तो आग्रह गरेको हो । आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको उल्लेख गर्दै सो आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ ।
आयोगका अनुसार सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिताको पूर्ण पालना गरिरहेका छन् वा छैनन् भन्ने विषयमा अनुगमन भइरहेको छ । स्थानीय तहका केही जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ ।
आयोगले आचारसंहिताविपरीत हुने गरी आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुन स्थानीय कार्यपालिकाका पदाधिकारीलाई सचेत गराएको छ ।



