वडावडामा मतदाता शिक्षा

मोरङ, – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका गाउँगाउँमा चुनावी माहोल तातेको छ। जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दङ्गालका अनुसार जिल्लाभरका एक हजार ८१२ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालनसम्बन्धी प्रशिक्षण दिइँदैछ । निर्वाचनका सम्पूर्ण सामग्रीसहित मतपत्र छ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको उनले जानकारी दिए ,।

जिल्ला सुरक्षा समितिले वर्गीकरण गरेका अतिसंवेदनशील मतदान केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । साथै आवश्यक कर्मचारी व्यवस्थापनसमेत सुदृढ गरिएको जनाइएको छ ।

मतदाता शिक्षाले सर्वसाधारणमा उत्साह बढाएको देखिन्छ। बेलबारी–१० भाउन्नेका ८० वर्षीय शुक्रमाया राईले विगतका निर्वाचनमा मतदान गरे पनि यसपटकको मतदाता शिक्षाले प्रक्रिया अझ सहज बनाएको बताउनुभयो। बेलबारी–११ का राजन खतिवडा तथा रङ्गेली नगरपालिका–२ का कैलाश ऋषिदेव पहिलो पटक मतदान गर्न लागेका मतदाता हुन् । दुवैले मतदाता शिक्षा लिइसकेको र आफ्नो मत बदर नहुनेमा विश्वस्त रहेको बताएका छन् ।

निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता सङ्ख्या ७ लाख ८३ हजार ५० पुगेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ७ लाख ३५ हजार ५३५ मतदाता थिए । यसपटक मतदाता सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ ।

निर्वाचन कार्यालयले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन र निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेको छ ।