नेपाली सेना तीन चरणमा चुनावी सुरक्षा तयारीमा

काठमाडौँ – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाली सेना तीन चरणमा सुरक्षा व्यवस्थापनसहित परिचालित भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि सेनाले निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी चरणबद्ध सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सम्पन्न भइसकेको छ भने मतपत्र छपाइस्थलको सुरक्षा जिम्मेवारी पनि सफलतापूर्वक पूरा गरिएको छ ।

मतपत्र ढुवानीदेखि गणनास्थलसम्म सुरक्षा

निर्वाचन आयोग का अनुसार आजसम्म ७५ जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको छ र भोलिसम्म सबै जिल्लामा मतपत्र पुर्‍याइनेछ। भौगोलिक अवस्थाअनुसार पाँच जिल्लामा हवाई मार्गबाट तथा अन्य जिल्लामा स्थलमार्गबाट मतपत्र ढुवानी गरिएको हो।

२०४८ सालयता सेनाले मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौँबाट जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी तथा मतदान सम्पन्न भएपछि मतपेटिका मतगणना स्थलसम्म सुरक्षित पुर्‍याउने कार्य गर्दै आएको छ।

निर्वाचनको दौरान तेस्रो सुरक्षा घेरामा रही सेना परिचालित हुने तथा मतगणनाको समयमा गणनास्थलको बाहिरी घेरामा सुरक्षा प्रदान गर्ने व्यवस्था रहेको सेनाले जनाएको छ।

एकीकृत सुरक्षा योजना

एकीकृत सुरक्षा योजनाअनुसार सेनाले मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा, हवाई गस्ती, शङ्कास्पद वस्तु निष्क्रिय पार्ने कार्यलगायत जिम्मेवारी सम्हाल्नेछ। आवश्यकताअनुसार थप फौज परिचालन गरी जुनसुकै सुरक्षा घेरामा खटिन सक्ने व्यवस्था गरिएको छ।

निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी देशभर विभिन्न स्थानमा बेस स्थापना गरी नियमित गस्ती भइरहेको छ। विकट क्षेत्रमा सडकमा जमेका हिउँ पन्छाएर बाटो खुलाउने, निर्वाचन सामग्री ढुवानीमा सहयोग गर्ने कार्य पनि सेनाले गरिरहेको जनाएको छ।

११६ महत्वपूर्ण संरचनामा सुरक्षा

कारागार, विमानस्थल, सरकारी कार्यालयसहित ११६ महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिएको छ। निर्वाचन सुरक्षासम्बन्धी गतिविधिको केन्द्रीय तथा स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको जनाइएको छ।

यसक्रममा अशोकराज सिग्देल ले विभिन्न कमान्ड सेन्टर तथा फिल्ड निरीक्षण गरी आवश्यक निर्देशन दिएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता बस्नेतले निर्वाचन आचारसंहिता तथा मानवअधिकारको पूर्ण पालना गर्दै सरकार, निर्वाचन आयोग र अन्य सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइने स्पष्ट पारे ।

संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना मिसनमा अनुभव हासिल गरेको सेनाले विगतजस्तै यसपटक पनि प्रतिनिधिसभा निर्वाचन सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।