नवलपरासी, – वर्षाका कारण बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । विशेषगरी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडक भासिएको र सतह चिप्लो भएकाले आज बिहानदेखि सवारी आवतजावतमा समस्या आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उहाँका अनुसार, “बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ । उक्त स्थानमा करिब १०० देखि १५० सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।”
हाल पनि सिमसिम पानी परिरहेको र सडक सञ्चालनमा तत्काल कठिनाइ रहेको जनाइएको छ । प्रहरी र सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।


