त्रिवेणी (नवलपरासी), – नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। दाउन्ने डाँडाको चुचुरोमा रहेको यो मन्दिर पूर्व–पश्चिम राजमार्ग नजिक भएकाले पनि दर्शनार्थीको पहुँच सजिलो भएको छ ।
समुद्री सतहबाट करिब ३,३०० फिट उचाइमा अवस्थित मन्दिर पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टा उकालो यात्रा गर्नुपर्छ। भक्तजनहरूको विश्वास छ कि यहाँ पूजाआराधना गर्दा मनोकामना पूरा हुन्छ । यसकारण नेपालका विभिन्न जिल्लासँगै भारतीय सीमा नजिकको अवस्थाका कारण भारतबाट पनि भक्तजन यहाँ आउने गरेका छन् ।
स्थानीय जनश्रुतिअनुसार, पाल्पाका राजा मणिमुकुन्द सेनको शासनकालदेखि यहाँ धार्मिक महत्त्व रहेको छ । दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिहर सुवेदीले यस मन्दिरलाई ऐतिहासिक र शक्तिपीठका रूपमा पूजाआराधना हुने स्थान भएको जानकारी दिए ,।
विशेषगरी बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी र अन्य पर्वका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । विवाह, व्रतबन्धलगायत धार्मिक कार्यका लागि पनि स्थानीयहरू मन्दिरमा आउने गर्छन् । मन्दिर क्षेत्रका अन्य धार्मिक स्थलहरूमा लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर, गुम्बा लगायत समेटिएका छन् ।
अध्यक्ष सुवेदीका अनुसार, मन्दिर व्यवस्थापन समितिले गौशालासमेत सञ्चालन गर्दै आएको छ र सार्वजनिक बिदाका दिनहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । “दसैँमा ठूलो चाप लाग्छ भने अन्य समयमा सार्वजनिक बिदाका दिनमा उल्लेख्य भक्तजन आउने गर्छन्,” उनले बताए ।
धार्मिक महत्वका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा घुमफिरका लागि पनि पर्यटक आकर्षित हुँदै आएका छन्। गण्डकी प्रदेश सरकारले दाउन्ने देवी मन्दिरलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको छ, तर राज्यस्तरबाट यसको विकासमा पर्याप्त चासो नदेखिएको अध्यक्ष सुवेदीले बताए ।
भक्तजनहरूले चढाएको भेटीबाट मन्दिरको पुजारी व्यवस्थापन, गौशाला सञ्चालन, कर्मचारी व्यवस्थापन लगायत सामान्य व्यवस्थापन भइरहेको छ । सुवेदीका अनुसार, “राज्यले यस्ता शक्तिपीठहरूको सञ्चालन र संरक्षणमा पहल गर्नुपर्छ। यी हाम्रो धार्मिक सम्पदा हुन् ।”
हालै मन्दिर व्यवस्थापन समितिले अशक्त र ज्येष्ठ नागरिकलाई सहज रूपमा मन्दिर पुग्न सक्ने बाटोको नयाँ मार्ग खोलेको छ । तर मार्ग स्तरोन्नतिको लागि गिट्टी हाल्न सकेको छैन र यसका लागि राज्यको सहयोग आवश्यक रहेको अध्यक्ष सुवेदीले बताए ।
धार्मिक र प्राकृतिक सौन्दर्यको मेलले दाउन्ने देवी मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउँदै गएको छ। अध्यक्ष सुवेदीले यसको थप व्यवस्थापन र विकासका लागि सबैको सक्रिय पहल आवश्यक रहेको औँल्याए ।



