स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर, – स्थानीय तहले स्वरोजगारमार्फत आर्थिक आत्मनिर्भरता बढाउने उद्देश्य राख्दै सञ्चालन गरेका सीपमूलक कार्यक्रमहरूले ग्रामीण अर्थतन्त्रमा सानो तर महत्वपूर्ण परिवर्तन देखिन थालेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको सीप विकास कार्यक्रमअन्तर्गत १३३ जनाले विभिन्न व्यवसायिक तालिम प्राप्त गरेका छन्, जसमध्ये ३९ जनाले तालिमपछि आफ्नै व्यवसाय सुरु गरेका छन् ।

नगरपालिकाले आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी लघु तथा घरेलु उद्योग प्रवद्र्धन कार्यक्रममार्फत तालिम उपलब्ध गराएको हो । स्थानीय स्तरमा उपलब्ध स्रोत र बजारलाई ध्यानमा राखेर सञ्चालन गरिएका तालिमहरू काष्ठकला, ग्यास चुलो मर्मत, गुन्द्री उत्पादन, खेलौना निर्माण, अटो ड्राइभिङ, दुना–टपरी उत्पादन तथा फुट मसाज (सुत्केरी स्याहार) जस्ता व्यवसायिक क्षेत्रमा केन्द्रित छन् ।

कार्यक्रमअन्तर्गत काष्ठकला, ग्यास चुलो मर्मत, गुन्द्री, दुना–टपरी र फुट मसाज तालिममा २०–२० जना सहभागी भएका छन् भने खेलौना निर्माणमा १३ जना र अटो ड्राइभिङमा २० जनाले तालिम लिएका छन्। तालिमपछि सहभागीहरूलाई व्यवसाय सुरु गर्न सहज होस् भन्ने उद्देश्यले आवश्यक उपकरण तथा सामग्री पनि अनुदानमा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमका उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीका अनुसार तालिम मात्र नभई उपकरण उपलब्ध गराउनु कार्यक्रमको मुख्य पक्ष हो । “सीप सिकेपछि उपकरण नहुँदा व्यवसाय सुरु गर्न कठिन हुन्छ,” उनले भने, “त्यसैले तालिमसँगै सामग्री उपलब्ध गराएर लक्षित समूहलाई वास्तविक रूपमा आत्मनिर्भर बनाउने प्रयास गरिएको छ ।”

स्थानीय तहहरूले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरूको प्रभाव सामान्यतया तत्काल ठूलो देखिँदैन । तर साना व्यवसाय विस्तार हुँदै जाँदा ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढ्ने, स्थानीय उत्पादन र सेवा बजारमा विस्तार हुने तथा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिमा पनि केही हदसम्म कमी आउन सक्ने अर्थशास्त्रीहरूको विश्लेषण छ ।

तालिमपछि व्यवसाय सुरु गर्नेहरूका अनुभवले पनि यसको प्रारम्भिक प्रभाव देखाएको छ । दुना–टपरी बनाउने तालिम लिनुभएकी सरिता चौधरीले अहिले उत्पादन गरी स्थानीय बजारमा बिक्री गर्न थालेकी छन् । “पहिले आम्दानीको कुनै स्रोत थिएन, अहिले उत्पादन गरेर बिक्री गर्दा घरखर्चमा सहयोग पुग्न थालेको छ,” उनले भनिन् ।

यस्तै, आधुनिक सिलाइ मेसिन अनुदानमा प्राप्त गरेका जगतबहादुर सिंहले तालिमपछि गार्मेन्ट व्यवसाय विस्तार गर्न सकेको बताए। उनका अनुसार तालिमले सीप सुधार्न मात्रै होइन, व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पनि मद्दत पुगेको छ।

तालिम लिने सहभागीहरूको उमेर १८ देखि ५५ वर्षसम्म रहेको छ, जसमा अधिकांश महिला रहेका छन्। नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरका अनुसार ‘हात–हातमा सीप र घर–घरमा रोजगारी’ सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय स्तरमा रोजगारी सिर्जना गरी आयआर्जन बढाउने र विपन्न वर्गलाई आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको उनले बताए।

नेपालका धेरै स्थानीय तहमा सीपमूलक तालिम कार्यक्रम सञ्चालन भइरहे पनि चुनौती भने अझै कायम छन्। बजार पहुँच, कच्चा पदार्थको उपलब्धता, पूँजीको अभाव र उत्पादनको प्रतिस्पर्धा जस्ता कारणले तालिमपछि व्यवसाय टिकाउन कठिन हुने अवस्था पनि देखिन्छ। त्यसैले विशेषज्ञहरू स्थानीय तहले तालिमसँगै बजार व्यवस्थापन, सहकारी वा समूहगत उत्पादन र वित्तीय पहुँच जस्ता पक्षमा पनि जोड दिनुपर्ने सुझाव दिन्छन्।

यस दृष्टिले हेर्दा शुक्लाफाँटा नगरपालिकाको कार्यक्रमले ग्रामीण स्तरमा साना उद्यम विस्तार गर्ने आधार तयार गरेको देखिन्छ। यदि तालिम प्राप्त व्यक्तिहरूको व्यवसाय विस्तार हुँदै गए र थप रोजगारी सिर्जना भयो भने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउने सम्भावना रहनेछ।