हिमपातपछि ताप्लेजुङका डाँडाकाँडा सेताम्मे, आन्तरिक पर्यटकको आकर्षण बढ्यो

फुङ्लिङ (ताप्लेजुङ), – दुई दिनको वर्षापछि मौसम खुलेसँगै ताप्लेजुङका उच्च भू–भाग यतिबेला हिउँले ढाकिएर चाँदीझैँ सेताम्मे देखिएका छन् ।

तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको दृश्यले मनमोहक बनाएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा सहित कुम्भकर्ण हिमाल, पाथीभरा र मानाभरा क्षेत्र पनि सेताम्मे बनेका छन्। मौसम सफा भएसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या समेत बढ्न थालेको छ ।

शुक्रबार साँझदेखि सुरु भएको वर्षासँगैको हिमपातले जिल्लाका विभिन्न हिमाली क्षेत्रहरू ढाकिएका हुन् । घुन्सा, फले तथा ओलाङ्चुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ। त्यस्तै मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला, मैवाखोला तथा आठराई त्रिवेणी गाउँपालिकाका माथिल्ला भेग, मिल्के–जलजले क्षेत्र र सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर आसपास समेत हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ ।

हिमपातसँगै जिल्लाका हिमाली बस्तीहरूमा चिसो अत्यधिक बढेको छ । विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साजस्ता बस्तीमा कडाकेको चिसो महसुस गरिएको स्थानीयले बताएका छन् ।