हिलिहाङमा स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा नसर्ने रोगको लक्षण

पाँचथर, – हिलिहाङ गाउँपालिका ले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा सहभागीमध्ये १२ प्रतिशतमा विभिन्न नसर्ने रोगका लक्षण देखिएको छ ।

गाउँपालिकाले ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्याका संकेत भेटिएको स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए ।

स्वास्थ्य परीक्षणका लागि नियमित रूपमा नआउने तथा दैनिक काममा व्यस्त रहेका व्यक्तिहरूमा यस्तो समस्या बढी देखिएको पाइएको छ । “न्यूनतम १२ प्रतिशत स्वस्थ देखिने मानिसहरूमा पनि नसर्ने रोगका लक्षण फेला परेका छन्,” घिमिरेले भने, “गत वर्षदेखि नै पहिचान अभियान चलाइरहेका छौँ, जसमा उल्लेख्य सङ्ख्यामा बिरामी भेटिँदै आएका छन् ।”

गाउँपालिकाले सामाजिक तथा धार्मिक कार्यक्रम—जस्तै विवाह र भोजभतेर—मा समेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको छ। मानिसहरू गम्भीर अवस्था भएपछि मात्रै उपचारका लागि आउने प्रवृत्ति देखिएकाले समयमै रोग पहिचान गर्न यस्तो अभियान सञ्चालन गरिएको जनाइएको छ। साथै, मधुमेह र उच्च रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरणसमेत गरिँदै आएको छ ।

स्वास्थ्य सचेतना विस्तार गर्न ‘सेटलाइट क्लिनिक’ सञ्चालन गरी प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व तथा परिवार नियोजनसम्बन्धी जानकारी पनि प्रदान गरिँदै आएको छ । यो कार्यक्रम गाउँपालिकाका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने गरेको छ ।

यसैबीच, खोजपड्तालकै क्रममा चार जनामा कालाजार र छ जनामा क्षयरोग समेत पुष्टि भएको छ । पहाडी क्षेत्रमा विरलै देखिने कालाजारका बिरामी फेला परेपछि सचेतनामूलक कार्यक्रमलाई अझ विस्तार गरिएको छ ।

गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार खोज, परीक्षण, उपचार र औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिएको छ । उनले समयमै रोग पहिचान र उपचारले जटिलता कम गर्न सहयोग पुगेको बताए ।