काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण सङ्घीय संसद्मा पेस गर्दै नेपालको बाह्य अर्थतन्त्र सुदृढ भए पनि आन्तरिक उत्पादन र लगानी विस्तार भने अपेक्षाकृत सुस्त रहेको चित्र प्रस्तुत गर्नुभएको छ ।
बजेट प्रस्तुत हुनुअघि सार्वजनिक गरिने वार्षिक आर्थिक अवस्थासम्बन्धी यो प्रतिवेदनले रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक उपलब्धि हासिल भए पनि उत्पादन, उद्योग र सरकारी खर्चको कार्यान्वयन पक्ष कमजोर देखिएको जनाएको छ ।
सर्वेक्षणअनुसार नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ४.४३ प्रतिशतभन्दा कम हो। विश्वव्यापी आर्थिक अनिश्चितता, युद्ध, व्यापार अवरोध तथा कृषि उत्पादनमा मौसमीय असरका कारण वृद्धि सुस्त भएको उल्लेख गरिएको छ। देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रु. ६६ खर्ब ९ अर्ब पुगेको छ।
महँगी घट्यो, तर क्रयशक्ति कमजोर
फागुनसम्मको तथ्याङ्कअनुसार वार्षिक औसत महँगी २.१३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४.७२ प्रतिशत थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम मूल्य घट्नु यसको प्रमुख कारण मानिएको छ। तर, आम्दानी वृद्धि सुस्त भएकाले बजारमा उपभोग्य माग कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ।
रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति ऐतिहासिक स्तरमा
चालु आर्थिक वर्षमा रेमिट्यान्स ३७.७ प्रतिशतले बढेर रु. १४ खर्ब ४९ अर्ब ७० करोड पुगेको छ। शोधनान्तर स्थिति रु. ६ खर्ब ५८ अर्बले बचतमा रहेको छ। विदेशी मुद्रा सञ्चिति करिब रु. ३४ खर्ब १३ अर्ब पुगेको छ, जसले साढे १८ महिनाभन्दा बढी आयात धान्न सक्ने क्षमता रहेको देखाएको छ।
राजस्व र सार्वजनिक ऋणमा दबाब
सरकारी खर्च १०.४ प्रतिशतले बढ्दा राजस्व वृद्धिदर ३.२ प्रतिशतमा सीमित रहेको छ। सार्वजनिक ऋण रु. २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ, जुन जीडीपीको करिब ४४ प्रतिशत हो। विकास खर्च अपेक्षाकृत कमजोर देखिएको छ भने नाफामा रहेका सार्वजनिक संस्थानको संख्या २७ मात्रै रहेको छ।
कृषि र उद्योगमा सुस्तता
कृषि क्षेत्रको योगदान घट्दै २४ प्रतिशतमा झरेको छ। धान उत्पादन ४.१६ प्रतिशतले घटेको छ। उद्योग क्षेत्रको योगदान १३.७३ प्रतिशत मात्र रहेको छ। उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको प्रतिवेदनले देखाएको छ।
ऊर्जा, पर्यटन र पूर्वाधारमा प्रगति
विद्युत् पहुँच ९९.१ प्रतिशत जनसंख्यामा पुगेको छ। उत्पादन क्षमता ४,१०५ मेगावाट पुगेको छ भने २,९१८ गिगावाट घण्टा विद्युत् भारततर्फ निर्यात गरिएको छ। पर्यटनमा ११ लाखभन्दा बढी विदेशी आगमन भएको छ भने सडक, सुरुङमार्ग र रेल सेवामा विस्तार जारी छ।
शिक्षा, स्वास्थ्य र डिजिटल क्षेत्रको सुधार
साक्षरता दर ९४ प्रतिशतभन्दा माथि पुगेको छ। मातृ मृत्युदर प्रति लाख १५१ मा झरेको छ। डिजिटल भुक्तानी, इन्टरनेट प्रयोग र मोबाइल बैंकिङ तीव्र रूपमा विस्तार भएको छ।
गरिबी घट्दो, चुनौती कायमै
निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ। तर अझै पनि ठूलो जनसंख्या गरिबीको जोखिममा रहेको प्रतिवेदनले जनाएको छ।
समग्रमा आर्थिक सर्वेक्षणले नेपालको बाह्य आर्थिक आधार मजबुत हुँदै गएको देखाए पनि आन्तरिक उत्पादन, रोजगारी सिर्जना र विकास खर्चको कार्यान्वयन सुधार्न आवश्यक रहेको संकेत गरेको छ। आगामी बजेटले यी चुनौतीलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा चासो बढेको छ।



