भद्रपुर, – सीमावर्ती क्षेत्रबाट हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी र राजस्व चुहावट नियन्त्रण गर्न झापा प्रशासनले झापा–इलाम सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। चाडपर्व नजिकिँदै गर्दा पटका लगायतका अवैध सामग्रीको ओसारपसार हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार जिल्ला सुरक्षा समितिले झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरेको छ। मेचीनगर, बुद्धशान्ति र अर्जुनधारालगायतका पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको हो। मुख्य नाकाबाहेक वैकल्पिक सडक तथा ग्रामीण मार्गबाट हुनसक्ने अवैध ओसारपसार र तस्करीलाई सूक्ष्म निगरानीमा राखिएको उनले बताए ।
इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ हुनसक्ने अवैध निकासीलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको प्रशासनले जनाएको छ। यसबाट राजस्व चुहावट नियन्त्रण गर्नुका साथै अवैध वस्तुको ओसारपसार र सीमा अपराध रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट समेत अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको पोखरेलले बताए। सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध गतिविधिबारे सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था पनि मिलाइएको उनकाे भनाइ छ।
प्रशासनले जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा निगरानी प्रभावकारी बनाउन निर्देशन दिएको छ। सीमामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले अवैध गतिविधि नियन्त्रणका लागि भएका प्रयास, सुरक्षा उपस्थिति, गस्ती र कारबाहीको विवरण प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्थाको मूल्याङ्कन गरी थप रणनीति तय गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा प्रहरी उपरीक्षक सचिन कर्माचार्य र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए।
नजिकिँदो चाडपर्वका बेला सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्री भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसतर्फ विशेष सतर्कता अपनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ।



