म्याग्दी – असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा करिब ५५० घरपरिवार प्रभावित भएका छन्। बाढीपहिरोबाट १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ। थप ३४२ घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिका प्रभावित भएको छ। त्यहाँ ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा परेका छन्।
बेनी नगरपालिकामा ३० घर पूर्ण, १४ घरमा आंशिक क्षति र ४५ घर जोखिममा परेका छन्। मङ्गला गाउँपालिकामा २३ घर पूर्ण तथा ३२ घरमा आंशिक क्षति पुगेको छ भने ३५ घर जोखिममा रहेका छन्।
त्यस्तै, रघुगङ्गा गाउँपालिकामा छ घर पूर्ण, २७ घरमा आंशिक क्षति र ५३ घर जोखिममा परेका छन्। मालिका गाउँपालिकामा तीन घर पूर्ण, एक घरमा आंशिक क्षति र तीन घर जोखिममा छन्। धवलागिरि गाउँपालिकामा चार घर पूर्ण, सात घरमा आंशिक क्षति र २३ घर जोखिममा रहेको प्रशासनले जनाएको छ।
बाढीपहिरोका कारण ५६ गोठ भत्किएर तथा पुरिएर क्षति पुगेको छ। घटनामा २० पशुचौपाया मरेका छन्।
अन्नपूर्ण गाउँपालिकाका गिवाङ, पाउद्धार, किन्दु र घिरवाङका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरी शिख र घारमा स्थापना गरिएका अस्थायी शिविरमा राखिएको छ। सडक यातायात अवरुद्ध भएका कारण विस्थापितलाई आवश्यक राहत सामग्री बेनीबाट हेलिकप्टरमार्फत ढुवानी गरी उपलब्ध गराइएको प्रशासनले जनाएको छ।
पहिरोमा परी अन्नपूर्ण गाउँपालिकाका पाँच र मालिका गाउँपालिकाका दुई जनाको मृत्यु भएको छ। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाबाट एक–एक जना बेपत्ता रहेका छन्।
बाढीपहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि तथा पशुपक्षीलगायत क्षेत्रमा समेत क्षति पुर्याएको छ। ती क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेकाले प्रभावित घरपरिवार तथा भौतिक क्षतिको सङ्ख्या अझै बढ्न सक्नेछ।



