सडकले रोक्यो मुस्ताङको स्याउ, बोटमै कुहिने चिन्तामा किसान

मुस्ताङ – दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा मुस्ताङको स्याउ बजार पठाउने मुख्य समयमा बेनी–जोमसोम सडक अवरुद्ध भएपछि किसान र व्यापारी चिन्तित बनेका छन् । केही दिनअघि परेको भारी वर्षापछि आएको बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा बगैँचामा पाकेर लटरम्म फलेका स्याउ बजार पुर्‍याउन समस्या भएको हो ।

दसैँअघि स्याउको खपत उच्च हुने सोह्र श्राद्धको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङको स्याउ व्यापार प्रभावित बनेको छ । म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्ता लगायत दर्जनौँ स्थानमा सडक संरचनामा क्षति पुगेपछि एक सातादेखि बेनी–जोमसोम सडक बन्द छ । यसको प्रत्यक्ष असर स्याउको ढुवानी र बजारीकरणमा परेको छ ।

मुस्ताङका बारी तथा बगैँचामा पाकेका स्याउ हाँगै भाँचिएलान् जसरी लटरम्म झुन्डिएका छन् । तर, बजार पठाउने समयमा सडक बन्द भएपछि किसानले टिप्न तयार भएका स्याउसमेत व्यवस्थापन गर्न सकेका छैनन् । जिल्लास्तरमा छिटो पाक्ने अर्ली प्रजातिका स्याउ भदौ १५ गते र ढिलो पाक्ने प्रजातिका स्याउ भदौ २२ गतेदेखि टिप्ने निर्णय गरिएको थियो । हरितालिका तीजअघि केही स्याउ बजार पठाइए पनि ८० प्रतिशतभन्दा बढी उत्पादनको बजारीकरण हुन बाँकी छ ।

मुस्ताङमा औसतमा वार्षिक सात हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । यहाँका किसानले परम्परागत स्थानीय जातका स्याउसँगै उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीसमेत गर्दै आएका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि ढुवानी अवरुद्ध हुँदा किसान र व्यापारी दुवैको लगानी जोखिममा परेको छ ।

घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान कर्म गुरुङले सडक बन्द हुँदा उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गरे । सडक अवरुद्ध भएपछि इन्धन र विद्युत् आपूर्तिसमेत प्रभावित हुँदा टिपिसकेको स्याउ चिस्यान गृहमा राख्नसमेत समस्या भएको उनकाे भनाइ छ ।

झन्डै सात सय मेट्रिक टन स्याउ उत्पादन गर्दै आएको चिम्ले अर्चार्ड कृषि फार्मका सञ्चालक गुरुङले टिप्न बाँकी स्याउ बोटमै पाकेर झर्ने र टिपिसकेको स्याउ कुहिने जोखिम बढेको बताए ।

“अवरुद्ध सडकले किसानको मेहनत त्यसै खेर जानेजस्तो देखियो । बोटमा भएका स्याउ पनि पाकेर झर्ने बेला भइसक्यो,” उनले भने, “जतिसक्दो बाटो खुलाउन सके सबैभन्दा बढी राहत किसानलाई हुने थियो ।”

थासाङ गाउँपालिका–१ टुकुचेस्थित आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनका अनुसार बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङको स्याउ व्यापार पूर्ण रूपमा ठप्प भएको छ । तीजको समयमा करिब ५० प्रतिशत स्याउ बिक्री गरिसकेका तुलाचनले दसैँअघि बाँकी स्याउ बजार पठाउने तयारी गरिरहेका बेला सडक बन्द भएको हो ।

उत्पादनका हिसाबले यस वर्ष किसान र व्यापारी दुवै लाभान्वित हुने अपेक्षा गरिएको थियो । तर, स्याउ बजार पुर्‍याउन नसक्दा उत्पादनबाट हुने आम्दानी प्रभावित हुने चिन्ता बढेको छ ।

स्याउ व्यापारकै लागि धादिङका व्यापारी ऊर्जा तामाङ तीन सातादेखि मुस्ताङमा हुनुहुन्छ । तीन दशकदेखि मुस्ताङको स्याउ व्यापारमा संलग्न उनलाई यस वर्ष भने व्यापार नै चौपट हुने चिन्ता छ । घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका आधा दर्जनभन्दा बढी बगैँचाको एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ ठेक्कामा लिनुभएका तामाङले सङ्कलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएको बताए ।

मुस्ताङमा जिल्ला बाहिरका ५० भन्दा बढी र स्थानीय २० भन्दा बढी व्यापारी स्याउ कारोबारमा संलग्न छन् । यहाँ व्यापारीले भदौअघि नै बगैँचाको स्याउ मूल्याङ्कन गरी किसानलाई आंशिक पेश्की दिने र त्यसपछि स्याउ सङ्कलन, ग्रेडिङ तथा प्याकेजिङ गरेर ढुवानी गर्ने अभ्यास छ । तर, सडक अवरुद्ध भएपछि सङ्कलन गरिएको स्याउ थन्किएको छ भने व्यापारी बाटो खुल्ने प्रतीक्षामा छन् ।

सडक बन्द हुँदा स्याउको बाह्य बजार मात्र होइन, मुस्ताङभित्रकै कारोबारसमेत प्रभावित भएको छ । दसैँअघि हजारौँ पर्यटक मुस्ताङ पुग्ने समयमा स्थानीय किसानले पर्यटकलाई स्याउ बिक्री गर्ने अवसर पनि गुमाइरहेका छन् । जिल्ला बाहिरबाट पर्यटक आउन नसक्दा स्थानीय साना व्यापारीको स्याउ बिक्रीसमेत घटेको छ ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध रहेकाले किसान तथा व्यापारीलाई तत्काल स्याउ नटिप्न सुझाव दिइएको बताए । सडक बन्द हुँदा मुस्ताङका किसान र व्यापारी सबैभन्दा बढी प्रभावित भएको उनकाे भनाइ छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बाढीपहिरोबाट विभिन्न स्थानमा ठूलो क्षति पुगेकाले सडक सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्न सक्ने बताए । सडक खुलाउन सडक विभाग निर्देशनालय पोखराले आवश्यक संयन्त्र परिचालन गरेको उनले जानकारी दिए ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ व्यापारसँगै चीनसँग सडक सम्पर्क जोड्ने महत्त्वपूर्ण कोरला नाकाबाट हुने आयात–निर्यात पनि प्रभावित भएको छ । यसबाट सरकारी राजस्व सङ्कलनमा समेत असर परेको छ । सडक कहिले खुल्छ भन्ने अनिश्चितताले किसान र व्यापारीलाई स्याउको भण्डारण, ढुवानी र बजार व्यवस्थापन कसरी गर्ने भन्ने थप चुनौती खडा गरेको छ ।