डोल्पाबाट हिउँ छिचोल्दै मुस्ताङ आइपुगे च्याङ्ग्राका बथान

जोमसोम – दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल बढ्न थालेको छ। दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्राका बथान जोखिमपूर्ण बाटो छिचोल्दै मुस्ताङको जोमसोम आइपुग्न थालेका छन्।

माथिल्लो डोल्पाबाट पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर व्यापारी शेरबहादुर रोकाया शनिबार साँझ जोमसोम आइपुगेका हुन् । उनी डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेका थिए। डोल्पाबाट हिँडेको आठौँ दिन असोज १७ गते साँझ उहाँ च्याङ्ग्रासहित जोमसोम आइपुगेका हुन्।

हाल ती भेडाच्याङ्ग्रा मुस्ताङको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएका छन्। रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउँदा बाटोभरि सेताम्मे हिउँ जमेको थियो। भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्ग निकै कठिन बने पनि च्याङ्ग्रा लिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको उनले बताए ।

रोकायाले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएको छ। यसपटक पनि हिउँ, अत्यधिक चिसो र कठिन बाटो छिचोल्दै च्याङ्ग्रा जोमसोम ल्याइएको उनले बताए ।

उनका अनुसार माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरेर जोमसोम ल्याइएको हो। नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यस वर्ष डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनकाे भनाइ छ।

यसपटक डोल्पाबाट करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको रोकायाले जानकारी दिए। यद्यपि गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट मुस्ताङ झर्ने च्याङ्ग्राको सङ्ख्या कम हुने देखिएको छ। गत वर्ष डोल्पाबाट ११ हजारभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ ल्याइएको थियो।

गत वर्ष दसैँमा च्याङ्ग्राको व्यापारबाट आंशिक घाटा व्यहोरे पनि यस वर्ष ठूलो लगानी गरेको रोकायाले बताए। च्याङ्ग्रा लिएर जोमसोमसम्म आइपुगे पनि अब सडक तथा पदमार्गको अवस्थाले व्यापारमा थप चुनौती ल्याउन सक्ने उनकाे चिन्ता छ।

बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भए च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने उनले बताए । दसैँपछि डोल्पा फर्कने बाटोसमेत सरकारले समयमै सहज बनाइदिनुपर्ने उनकाे माग छ।

“हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ। दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो”, रोकायाले भने ।

यसैबीच, उपल्लो मुस्ताङबाट समेत शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ। दसैँ नजिकिँदै जाँदा जोमसोममा भेडाच्याङ्ग्राको कारोबार थप बढ्ने अपेक्षा गरिएको छ।