दसैँ नजिकिएसँगै राजधानीका खुला बजारमा बढ्यो किनमेलको चाप

काठमाडौँ – दसैँ नजिकिएसँगै काठमाडौँका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा र नयाँसडकलगायतका खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ्न थालेको छ। दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुग्ने ग्राहकको सङ्ख्या बढेपछि खुला बजारमा चहलपहल एकाएक बढेको हो।

विशेषगरी परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहक बढेपछि भृकुटीमण्डपका व्यापारीलाई भ्याइनभ्याइ भएको छ। दसैँका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै बजारमा ग्राहकको आवागमन बढ्न थालेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताए ।

उनका अनुसार केही दिनयता बजारमा ग्राहकको सङ्ख्या निरन्तर बढिरहेको छ। बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको उपस्थिति उल्लेख्य बढेको उनले बताए ।

“दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भने ।

दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए। ग्राहकको चाप बढेसँगै सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने र बिक्री व्यवस्थापन गर्न व्यापारीलाई भ्याइनभ्याइ हुने गरेको उनले बताए ।

“अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप बढेको छ । दसैँ नजिकिँदै जाँदा अझै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ”, अधिकारीले भने ।

भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बढेको छ। एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुनुका साथै आफ्नो बजेटअनुसार सामग्री छनोट गर्न सकिने भएकाले खुला बजारमा ग्राहकको आकर्षण बढेको व्यापारीहरू बताउँछन्।

चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि खुला बजार रोजाइमा पर्ने गरेको व्यापारीको भनाइ छ। काठमाडौँ उपत्यकाका खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलमा सपिङ मल र ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण रहने उनीहरू बताउँछन्।

सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताइन्। चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्यसँगै गुणस्तरलाई समेत ध्यान दिने गरेको उनले बताइन् ।

“सपिङ मलभन्दा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सरसामान केही सस्तो पाइन्छ । त्यसैले पनि ग्राहकको पहिलो रोजाइ खुला बजार र सडकपेटीका रात्रिकालीन पसल हुने गरेका छन्”, न्यौपानेले भनिन् ।

दसैँसँगै मौसममा समेत क्रमिक परिवर्तन आउन थालेपछि चिसो मौसमका लागि आवश्यक लुगाकपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन्। विशेषगरी ज्याकेट, स्वीटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताइन् ।

दसैँलगायतका चाडपर्व नजिकिँदै जाँदा राजधानीका बजारमा ग्राहकको चाप अझै बढ्ने व्यवसायीको अपेक्षा छ। व्यापारीले दसैँलाई लक्षित गर्दै विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन्। ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन्।

ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गरिरहेका छन्। दसैँ नजिकिँदै जाँदा बजारमा देखिएको बढ्दो चहलपहलले व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको अपेक्षा छ। किनमेलको मुख्य समय अझै बाँकी रहेकाले आगामी दिनमा ग्राहकको चापसँगै व्यापार पनि थप बढ्ने उनीहरूको विश्वास छ।