कांग्रेस महाधिवेशनमा आज बन्दसत्र, असोज २२ मा मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनमा आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुने कार्यतालिका छ।

बन्दसत्रअघि आज बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्रमा पार्टीका प्रतिवेदन पेस गरिने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका थिए ।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ। सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि बन्दसत्रमा सहभागी हुँदैछन्। प्रतिनिधिलाई तीन समूहमा विभाजन गरी बन्दसत्र सञ्चालन गरिनेछ।

यसैबीच, कांग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। साँझ ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोधको समय तोकिएको छ भने राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबी–विरोधको समय तोकिएको छ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सो दिन दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउने निर्वाचन समितिले जनाएको छ।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवन तोकिएका छन्। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

यससँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ।