म्याग्दी, – मालिका गाउँपालिका–६ दरवाङ का बासिन्दाले सडक विस्तारका लागि स्वस्फूर्त रूपमा घरका पेटी र टहरा भत्काउन थालेका छन् ।
दरवाङ बजारमा सडक फराकिलो पारेर कालोपत्र गर्ने योजनालाई सहज बनाउन स्थानीयले आफ्नै संरचना हटाएर सहयोग गरेका हुन् । वडाध्यक्ष पथबहादुर रोकाका अनुसार वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर फराकिलो बनाउन घरधनीहरू आफै अग्रसर भएका छन् । “पक्की सडकको प्रतिक्षामा रहेका दरवाङवासीले स्वेच्छाले संरचना हटाउँदा निर्माण कार्य सहज भएको छ,” उनले भने, ।
धौलागिरि टोलका ३६ र नयाँबजार टोलका ३१ घरको पेटी तथा टहरा भत्काउन नक्शाङ्कन गरिएको छ । स्थानीयस्तरमै बैठक गरेर आवश्यक जग्गा उपलब्ध गराउने र संरचना हटाउने सहमति भएको धौलागिरि टोलका अध्यक्ष मेख पुनले जानकारी दिए । नयाँबजार टोलका अध्यक्ष मिराज गौतमका अनुसार घरधनीको सहमतिमा न्यून क्षति हुने गरी संरचना हटाउने सहमति गरिएको छ ।
अन्य स्थानमा सडक विस्तारका क्रममा विवाद हुने गरे पनि दरवाङका बासिन्दाले भने सहकार्यको उदाहरण प्रस्तुत गरेका छन् । यसअघि हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुल क्षेत्रमा करिब ४०० मिटर नाली निर्माण भइसकेको छ ।
हाल सङ्घीय सरकारको समपुरक योजनाअन्तर्गत दरवाङ बजारको सडक कालोपत्र गर्ने काम सुरु भएको छ । करिब रु १ करोड ६६ लाख ४९ हजार लागत अनुमान गरिएको योजनामा सापकोटा बिल्डर्स ले रु १ करोड २६ लाख ८२ हजारमा ठेक्का पाएको छ। २०८२ माघ ३० गते सम्झौता भएको उक्त योजना २०८३ असार १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यस योजनाअन्तर्गत दरवाङको तल्लो–उल्लो बजार क्षेत्रमा करिब १.४ किलोमिटर सडक कालोपत्र गरिनेछ । सडक विस्तार र स्तरोन्नतिपछि सवारी आवतजावत सहज हुने र दुर्घटनाको जोखिम घट्ने स्थानीयवासीको अपेक्षा छ।



