काठमाडौँ, – सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ समारोहको तयारीमा जुटेको छ । सचिवालयले चैत ५ गते सूचना जारी गर्दै निर्वाचित सांसदलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ ।
सचिवालयका अनुसार शपथ समारोह चैत १२ गते अपराह्न २ बजे आयोजना हुनेछ । सांसदहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवास मा शपथ लिनुहुनेछ । त्यसपछि चैत १२ गते केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ दिलाउनेछन् ।
नेपालको संविधानअनुसार प्रतिनिधिसभाका सदस्यहरूले संसद्मा पहिलो पटक सहभागी हुनुअघि शपथ लिनुपर्ने व्यवस्था रहेको छ । साथै, सभामुख र उपसभामुख चयन नभएसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान पनि छ ।
शपथ समारोहपछि सांसदहरूलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न (लोगो), संविधान, नियमावली तथा सेवा–सुविधासम्बन्धी सामग्री प्रदान गरिनेछ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार समारोह र प्रारम्भिक बैठकहरू नयाँ निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा गर्ने तयारी भइरहेको छ ।
सिंहदरबारस्थित संसद् भवनमा भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको र केही प्राविधिक काम अन्तिम चरणमा पुगेको जनाइएको छ । सुरक्षालगायत व्यवस्थापन पनि मिलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि बैठक सञ्चालन हुने व्यवस्था छ ।
निर्वाचनपछि संसदीय शक्ति सन्तुलनमा परिवर्तन आएको छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिट, नेपाली कांग्रेस ले ३८ सिट, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २५ सिट, नेपाल कम्युनिष्ट पार्टी ले १७ सिट, श्रम संस्कृति पार्टी ले ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट तथा एक जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।
सचिवालयले दलहरूको शक्ति अनुसार संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ। नयाँ संसद् भवन पूर्ण भएपछि सबै दलका कार्यालय र सांसदका लागि छुट्टाछुट्टै चेम्बरको व्यवस्था सोही भवनभित्र गरिने योजना छ ।



