देवदह (रुपन्देही), – दुई दिनसम्म परेको बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा ठूलो क्षति पुर्याएको छ । शुक्रबार र शनिबार हुरीबताससहित परेको वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा नष्ट हुँदा उद्योगीहरू थप संकटमा परेका छन् ।
लुम्बिनी इँटा व्यवसायी सङ्घका महासचिव बाबुराम पाठकका अनुसार जिल्लामा हाल करिब ३० वटा इँटा उद्योग सञ्चालनमा छन्। पछिल्लो समय कोइला र डिजेलको मूल्यवृद्धिले उद्योगीहरू पहिल्यै आर्थिक दबाबमा रहेको अवस्थामा वर्षाले थप क्षति पुर्याएको उनको भनाइ छ । “कोइला र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले लागत बढिरहेको बेला करोडौँ मूल्य बराबरका काँचो इँटा नष्ट हुँदा उद्योगी झन् समस्यामा परेका छन्,” उनले भने, ।
सङ्घका निवर्तमान अध्यक्ष तथा आरएन ब्रिक्सका सञ्चालक अजयकुमार गुप्ताका अनुसार वर्षाका कारण जिल्लामा करिब तीन करोड रुपैयाँभन्दा बढीको काँचो इँटा नष्ट भएको अनुमान गरिएको छ। पोल्ने तयारीमा राखिएका इँटा वर्षाले बिगारेपछि उत्पादन चक्र नै प्रभावित भएको उनले बताए ।
उद्योगीहरूका अनुसार काँचो इँटाको बिमा व्यवस्था नहुँदा यस्ता प्राकृतिक विपद्का बेला हरेक वर्ष ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था छ । अन्य उद्योगसरह काँचो इँटाको पनि बिमा सुनिश्चित गर्ने नीति ल्याउनुपर्ने माग उनीहरूले गरेका छन् ।
बेमौसमी वर्षा र बढ्दो उत्पादन लागतले इँटा उद्योगको दीगो सञ्चालनमै चुनौती थपिएको व्यवसायीहरूको गुनासो छ।



