काभ्रेपलाञ्चोक – जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट क्षति भएका पीडितका लागि स्थायी आवास निर्माणार्थ नामावली सिफारिस प्रक्रिया सुरु गरेको छ। डेढ वर्षपछि सुरु भएको यस प्रक्रियाअन्तर्गत पहिलो चरणमा रोशी गाउँपालिका का पीडितलाई प्राथमिकतामा राखिएको छ ।
समितिको सोमबार बसेको बैठकले २०८१ असोजको बाढीपहिरोबाट पूर्ण तथा आंशिक क्षति पुगेका १९९ घर पुनर्निर्माण तथा ४० घर रेट्रोफिटिङ (प्रवलीकरण) गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार प्रभावित घरधुरीको विवरण संकलन गरी स्थायी आवास निर्माणका लागि सिफारिस थालिएको हो । “रोशी गाउँपालिकाबाट सिफारिस प्रक्रिया सुरु गरिएको छ, अब क्रमशः अन्य स्थानीय तहका पीडितलाई पनि समेटिनेछ,” उनले भने, ।
सरकारले बाढीपहिरोपीडितका लागि स्थायी आवास निर्माणमा प्रति घर रु चार लाख अनुदान दिने निर्णय गरेको छ । उक्त रकममध्ये ५० प्रतिशत संघीय सरकार, ३० प्रतिशत प्रदेश सरकार र २० प्रतिशत स्थानीय तहले व्यहोर्ने व्यवस्था छ । यसअघि जिल्लाका १० स्थानीय तहका दुई हजार ८९५ घरपरिवारलाई अस्थायी आवास अनुदान वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
२०८१ असोजको विपत्तिमा रोशी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने ४८२ घर पूर्ण रूपमा र ८८३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका थिए । साथै दुई हजार ५४४ परिवारको खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।
उक्त विपत्तिले खानेपानीका ६० आयोजना, एक पक्की पुल, विद्यालय र चार स्वास्थ्य संस्थामा समेत क्षति पुर्याएको थियो। निर्माण सम्पन्न भइसकेका डम्फू पार्क, १० शय्याको अस्पताल र चिस्यान केन्द्रसहितको औद्योगिक ग्रामसमेत बाढीले बगाएको थियो ।
जिल्लाभर उक्त बाढीपहिरोमा ८१ जनाको मृत्यु भएको थियो भने छ जना अझै बेपत्ता छन् । एक सयभन्दा बढी घाइते भएका थिए। सबैभन्दा बढी क्षति व्यहोरेको रोशी गाउँपालिकाबाटै निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो ।



