मिथिलाञ्चलमा चैती छठको रौनक, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

जलेश्वर (महोत्तरी) : महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा लोक आस्था र सूर्य उपासनाको महान् पर्व चैती छठ आज मुख्य विधिसहित मनाइँदैछ। षष्ठी तिथिका अवसरमा व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पर्वको मुख्य पूजा सम्पन्न गर्दैछन् ।

चार दिनसम्म धार्मिक विधिपूर्वक मनाइने यस पर्व आइतबार चतुर्थी तिथिदेखि सुरु भएको हो। आज तेस्रो दिनको साँझ व्रतालुहरू विभिन्न पोखरी, नदी तथा जलाशयमा पुगेर पानीमा उभिएर अस्ताउँदो सूर्यको आराधना गर्ने परम्परा रहेको छ ।

व्रतालुहरूले घरघरमा गहुँ र चामल कुटेर तयार पारिएको पिठोबाट ठकुवा, भुसुवा, खजुरिया, पेरुकियालगायतका परिकार बनाउने गरेका छन् । साथै विभिन्न फलफूल, तरकारी तथा पूजा सामग्री नाङ्लो, ढाकन र माटाका भाँडामा सजाएर भक्ति गीत गाउँदै छठ घाटसम्म लैजाने चलन छ ।

सन्ध्याकालीन अर्घका क्रममा व्रतालुहरूले पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्दै दुवै हत्केलामा पिठार, सिन्दूर र अक्षता राखी अर्घ अर्पण गर्ने गर्छन् ।

महोत्तरी जिल्लाको जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, रामगोपालपुर, बलवा र भङ्गाहा नगरपालिकासहित विभिन्न गाउँपालिकाका पोखरी, तलाउ, नदी तथा नहर किनारमा श्रद्धालुको घुइँचो लागेको छ।

पण्डितहरूका अनुसार यो पर्वले सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्ने सन्देश दिन्छ । सूर्य देवता र छठी माताको आराधना गरिने यो पर्वमा अस्ताउँदो र भोलि उदाउँदो सूर्य दुवैको पूजा गरिन्छ ।

भोलि (बुधबार) बिहान पुनः छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएपछि चारदिने चैती छठ पर्व सम्पन्न हुनेछ । पारिवारिक सुख, शान्ति, समृद्धि तथा स्वास्थ्यलाभको कामनासहित श्रद्धापूर्वक मनाइने यस पर्वमा मिथिलाञ्चलसहित देशका विभिन्न सहरमा पनि व्यापक सहभागिता देखिएको छ ।