काठमाडौँ – नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको संख्या उल्लेख्य रूपमा बढेको छ । गृह मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू भएयता हालसम्म दुई हजार ९४८ जनाले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् ।
चौथो पटक संशोधन गरिएको उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेको थियो ।
संशोधनमार्फत नेपाल नागरिकता नियमावली, २०६३ का नियम ३, ५, ७, ८ र १४ मा परिवर्तन गरिएको छ भने नयाँ नियम १६ (क) थप गरिएको छ । साथै अनुसूचीमा समेत परिमार्जन गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार बाबु वा आमामध्ये एक जनाले जन्मका आधारमा नागरिकता पाएको र अर्को अभिभावकको मृत्यु भएको वा बाबुको ठेगाना अज्ञात रहेको अवस्थामा सन्तानलाई नागरिकता दिन सकिने प्रावधान स्पष्ट गरिएको छ । त्यस्तै नेपाली आमाबाट विदेशमा जन्मिएका र बाबुको पहिचान नखुलेका तर नेपालमै स्थायी बसोबास गरिरहेका सन्तानलाई पनि अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएको छ ।
यसका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय का प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी नागरिकता प्रदान गर्न सक्नेछन् । नागरिकता जारी गर्दा आवश्यक कागजातसँगै स्वघोषणालाई समेत आधारका रूपमा स्वीकार गर्ने व्यवस्था गरिएको छ ।
यसअघि वैवाहिक अङ्गीकृतबाहेक अन्य अङ्गीकृत नागरिकता गृह मन्त्रालयको निर्णयबाट मात्र दिइने व्यवस्था थियो । तर नयाँ संशोधनले उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सकिने बनाएको छ, जसले प्रक्रिया छिटो र सहज हुने अपेक्षा गरिएको छ ।
संशोधनले नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि स्पष्ट रूपमा समेटेको छ । साथै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको अवस्थामा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नुअघि नेपाल बसाइँ अनुमति (भिसा) नियमित हुनुपर्ने प्रावधान पनि सुनिश्चित गरिएको छ ।



