काठमाडौं – गत २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो आयोजित समारोहमा सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका हुन् ।
यसअघि बुधवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका केसीले प्रतिनिधिसभाका अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा ४७ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएको जनाइएको छ । यसले भाषिक विविधताको सम्मान र समावेशीतालाई थप सुदृढ बनाएको देखिन्छ ।



