काठमाडौं – बालेन्द्र शाह ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान २०७२ जारी भएपछि उक्त धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक भएको बताइएको छ।
३६ वर्षीय शाह काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका थिए। पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका उनी संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बन्न सफल भएका हुन्।
निर्वाचनमा उनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई करिब ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
शाहको प्रधानमन्त्री नियुक्तिसँगै नेपालको समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्व उदाएको विश्लेषण गरिएको छ।



