प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ बनाउन वीरेन्द्रनगरमा अन्तरक्रिया शुरु

सुर्खेत, – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूप बनाउन सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि दुई दिने ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया’ शुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सुरु भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरे । उनले संविधानको मर्मअनुसार तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनामा आधारित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

मुख्यमन्त्री कँडेलले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल र अन्तरक्रिया सुरु गरेको बताए ।

कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रनारायण यादवले एउटै जिल्लाबाट हजारौं योजना आउँदा विकासको प्राथमिकता पहिचानमा कठिनाइ देखिएको बताए । उनका अनुसार, राजस्व बाँडफाँड, विशेष, समपूरक र ससर्त अनुदानको कार्यान्वयनमा देखिएका समस्या, स्थानीय तहका कर्मचारी व्यवस्थापन, कानुन निर्माण र कार्यान्वयनका विषयमा बृहत् छलफल गरेर आगामी नीति, बजेट तथा कार्यक्रम तर्जुमाको दिशानिर्देश तयार गरिनेछ ।

अन्तरक्रियामा दश जिल्लाका समन्वय समिति प्रमुख तथा उपप्रमुख, २५ नगरपालिकाका नगरप्रमुख÷उपप्रमुख, ५४ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहित प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको छ ।