वीरगञ्ज (पर्सा), – वीरगञ्ज भन्सार कार्यालय हुँदै पछिल्लो करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन्।
पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको संकटका कारण नेपालसहित विभिन्न मुलुकमा एलपी ग्यास आपूर्तिमा समस्या देखिएको अवस्थामा वीरगञ्ज नाकाबाट भने आयात बढेको देखिएको हो।
भन्सार कार्यालयका अनुसार फागुन महिनामा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन्। एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गर्दै आएको टीआरएस हिमायन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेका अनुसार गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा वीरगञ्ज नाका हुँदै दुई हजार १३६ वटा ग्यास बुलेट नेपाल प्रवेश गरेका छन्।
उहाँका अनुसार माघ महिनामा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए भने चैत १३ गतेसम्म मात्रै थप ५७६ वटा बुलेट नेपाल प्रवेश गरिसकेका छन्।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सात महिनामा यस नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु २४ अर्ब ६ करोड मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको तथ्याङ्कमा उल्लेख छ।



