दाङ, – दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु गरिएको छ । अहिले सडकका मोड तथा साँघुरा स्थानमा कटान गरी सडक खुला बनाउने काम भइरहे पनि यसलाई चार लेनको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
सडक डिभिजन कार्यालय दाङ का प्रमुख दीपेन्द्र विष्ट का अनुसार चालु आर्थिक वर्षभित्रै सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । यसअघि साँघुरो सडकका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको थियो । सडक विस्तार र मोड सुधारपछि यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।
कार्यालयका अनुसार लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरी दुवैतर्फबाट आउने सवारीसाधन सजिलै देखिने गरी सडक विस्तारको काम भइरहेको छ । साँघुरा स्थानमा सडकको चौडाइ बढाउने, माटो कटिङ गर्ने तथा आवश्यक स्थानमा पर्खाल निर्माण गरी सडक फराकिलो बनाउने काम जारी रहेको प्रमुख विष्टले जानकारी दिए ।
सडक विस्तारको काम घोराही उपमहानगरपालिका–३ कुइरेपानी देखि लमही नगरपालिका–६ अर्जुनखोला सम्मको करिब १७ किलोमिटर सडकखण्डमा भइरहेको छ ।
सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोड सुधार, कटिङ तथा पर्खाल निर्माणको काम भइरहेको छ । यसका लागि अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिर सम्मको सडकखण्डमा करिब २० करोड १३ लाख ५९ हजार रुपैयाँ बराबरका तीनवटा ठेक्का सम्झौता गरिएको प्रमुख विष्टले बताए ।
उनका अनुसार कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड श्री मुनाल–केभी–सुनिल एन्ड विजय जेभी सँग १३ करोड ४६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । त्यस्तै मसोटखोलादेखि अर्जुनखोलासम्मको सडक विस्तारका लागि श्री इजी–अलकापुरी जेभी सँग ६ करोड ८० लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
चालु आर्थिक वर्षभित्रै चौपट्टादेखि अर्जुनखोलासम्मको सडक सुधारको काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको जनाइएको छ ।



