बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा उपलब्ध नगराएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्ड ले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

बोर्डका अनुसार बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिने, समयमै सेवा नदिने तथा आवश्यक उपचारबाट वञ्चित गराउने घटनाहरू देखिएका छन् । त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले सबै स्वास्थ्य संस्थालाई बीमित बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउन आग्रह गरेको छ ।

बोर्डले बीमा सेवा लिन अनावश्यक रूपमा अग्रिम समय लिनुपर्ने, बीमित बिरामीप्रति भेदभावपूर्ण व्यवहार हुने तथा आवश्यक औषधि र सेवा उपलब्ध नगराइने जस्ता गुनासो बढिरहेको जनाएको छ । यस्तो व्यवहार स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा अन्य प्रचलित कानुनविपरीत हुने भएकाले त्यसप्रकारका गतिविधि नगर्न बोर्डले स्पष्ट चेतावनी दिएको छ ।

अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा कानुनअनुसार कडा कारबाही गरिने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्यअनुसार सबै बीमित नागरिकलाई समान र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।