पुँजीगत खर्च बढाउन काठमाडौं महानरका विभागलाई डङ्गोलको निर्देशन

काठमाडौँ – काठमाडौँ महानगरपालिका की कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।

बजेट तथा कार्यक्रम कार्यान्वयन समीक्षा बैठकमा बोल्दै उनले स्वीकृत कार्यक्रम कार्यान्वयनबाट नागरिकले कति लाभ पाए भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् । “कार्यान्वयन भएका कार्यक्रमको अध्ययन–विश्लेषण गरेर नतिजा मापन गर्नुहोला,” उनीले भनिन्,“लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोस्, यसले जवाफदेहितामा वृद्धि गर्नेछ ।”

प्रशासन विभागका प्रमुख महेश काफ्ले ले प्रशासनिक खर्च घटाउने दिशामा विभाग केन्द्रित रहेको जानकारी दिए । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले कार्यक्रमसँगै नीतिको पनि समीक्षा गर्नुपर्ने अवस्था रहेको औँल्याइन् ।

महानगरको बजेटको मुख्य भार सार्वजनिक निर्माण विभाग मा रहेको छ । विभागअन्तर्गत पाँच अर्ब ७७ करोड रुपैयाँ बजेटका १९१ वटा योजना सञ्चालनमा छन्, जुन महानगरको कुल बजेटको करिब २३ प्रतिशत हो। तीमध्ये हालसम्म ४८ वटा योजना सम्पन्न भइसकेका छन् ।

विभागका प्रमुख सुरेश राई का अनुसार ती योजनाका लागि एक अर्ब ५५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन २६.८ प्रतिशत वित्तीय प्रगति हो । धुलोरहित कार्यक्रमअन्तर्गत पूर्व क्षेत्रमा ७६ प्रतिशत, उत्तर क्षेत्रमा ६८ प्रतिशत, मध्य क्षेत्रमा ६७ प्रतिशत र पश्चिम क्षेत्रमा ३० प्रतिशत वित्तीय प्रगति भएको छ ।

“उज्यालो काठमाडौँ” कार्यक्रमअन्तर्गत ६२ स्थानमा हाइमास्ट लाइट जडान भइसकेको छ । यसको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५० प्रतिशत रहेको छ। आकस्मिक मर्मत कार्य करिब ७० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

त्यस्तै, शिक्षा विभागले कार्यान्वयन गर्नुपर्ने ११९ वटा कार्यक्रममध्ये ८९ वटा नयाँ रहेको विभाग प्रमुख नमराज ढकालले बताए । तीमध्ये १६ वटा कार्यक्रम सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालन भइरहेका छन् ।

स्वास्थ्य विभागले भने सङ्घ सरकारको बजेटबाट नौ करोड ५४ लाख रुपैयाँका ३० वटा, प्रदेश सरकारको दुई करोड १९ लाख रुपैयाँका तीन वटा र महानगरको आन्तरिक बजेटबाट ८६ करोड २६ लाख ४२ हजार रुपैयाँका १५४ वटा गरी कुल १८७ वटा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।