शेयर बजार ओरालो लाग्दा पनि मार्जिन कर्जा बढ्यो, ठूला लगानीकर्ताकै पकड बलियो

काठमाडौं – नयाँ सरकार गठन भएपछि शेयर बजार निरन्तर ओरालो लागेर लगानीकर्ताहरू निराश भइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा जाने कर्जा भने बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार बैंकहरूबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा १ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ।

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ बराबरको मार्जिन कर्जा प्रवाह गरेका छन्। गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ रहेको थियो। यस आधारमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै १५ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ थप कर्जा शेयर बजारतर्फ प्रवाह भएको छ, जुन अघिल्लो असारको तुलनामा ११.१ प्रतिशत वृद्धि हो।

यद्यपि, गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर ३१.५ प्रतिशत रहेको थियो। त्यसबेला २८ अर्ब ४० करोड रुपैयाँ थपिएको थियो। त्यसको तुलनामा चालु वर्षमा कर्जा प्रवाहको गति केही सुस्त देखिएको छ।

तथ्यांकअनुसार शेयर बजारमा जाने कर्जाको ठूलो हिस्सा भने अझै पनि ठूला लगानीकर्ताको नियन्त्रणमा रहेको छ। १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा मात्रै १ खर्ब ९ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जुन कुल मार्जिन कर्जाको ७० प्रतिशतभन्दा बढी हो। आठ महिनाको अवधिमा यस वर्गको कर्जा १० अर्ब ७१ करोड ८८ लाख रुपैयाँ अर्थात् १०.८ प्रतिशतले बढेको छ। यसले बजारमा उतारचढाव भए पनि ठूला लगानीकर्ता र संस्थागत समूहले बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्न नछाडेको देखाउँछ।

अर्कोतर्फ, २५ लाख रुपैयाँभन्दा कम कर्जा लिने साना लगानीकर्ताको हिस्सा भने निकै न्यून देखिएको छ। यस वर्गमा जम्मा ८ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ। आठ महिनामा यो क्षेत्रमा ५७ करोड ६९ लाख रुपैयाँ मात्र थपिएको छ, जुन ७.१ प्रतिशतको वृद्धि हो।

त्यस्तै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब ६ करोड १६ लाख रुपैयाँ पुगेको छ भने ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ पुगेको छ। ५० लाखदेखि १ करोडसम्मको कर्जा लिने मध्यम वर्गीय लगानीकर्ताको संख्यामा भने यस वर्ष १७.४ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकले बैंकिङ प्रणालीमा तरलता विस्तार हुँदै गएको संकेत गरे पनि कर्जाको वितरण समानुपातिक नभएको देखाउँछ। करिब ७० लाख लगानीकर्ता आबद्ध रहेको भनिएको शेयर बजारमा साना लगानीकर्ताको पहुँच अझै कमजोर रहेको विश्लेषण गरिएको छ।

यसैबीच, नेप्से परिसूचक पछिल्लो एक हप्तामा करिब १८२ अंकले घटेको छ। बजार घटिरहेको अवस्थामा पनि बैंकहरूको मार्जिन कर्जा भने बढिरहेको देखिएको छ। राष्ट्र बैंकको विवरणअनुसार बैंकहरूको कुल शेयर कर्जा १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेर नयाँ उचाइमा पुगेको छ। तर साना लगानीकर्ताको हिस्सा न्यून रहनुले आगामी दिनमा मौद्रिक नीतिमार्फत उनीहरूलाई पनि कर्जामा सहज पहुँच उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइएको छ।