पाल्पा – रामपुर–कपुरकोट सडक आयोजना अन्तर्गत पर्ने हार्थोक–बतासे सडकखण्डको स्तरोन्नति कार्य आठ वर्षपछि अघि बढेको छ । लुम्बिनी प्रदेश सरकार को गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक लामो समय बजेट अभाव र सरकारी उदासीनताका कारण अलपत्र परेको थियो ।
प्रदेश सरकारले हाल पाँच किलोमिटर सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरी निर्माण कार्य सुरु गरेको छ । लामो समयदेखि मर्मत नहुँदा सडक वर्षायाममा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको थियो, जसका कारण यात्रु, बिरामी तथा गर्भवती महिलाले समेत जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो ।
पश्चिम पाल्पाका नागरिकका लागि ‘लाइफ लाइन’ मानिने यो सडक पक्की बनाउने विषय प्रत्येक चुनावमा प्रमुख एजेन्डा बन्दै आएको थियो । तर, चुनावपछि काम अघि नबढ्दा स्थानीय निराश बनेका थिए। अहिले स्तरोन्नतिको काम सुरु भएपछि स्थानीयवासीमा उत्साह छाएको छ ।
रैनादेवी छहरा गाउँपालिका का स्थानीय पदम सोमैले लामो समयदेखि हिँड्नै मुस्किल हुने सडक अब स्तरोन्नति हुन थालेपछि दुःखका दिन अन्त्य हुने आशा व्यक्त गरे । उनका अनुसार वर्षायामअघि नै घरायसी सामान जोहो गरेर राख्नुपर्ने अवस्था अब हट्ने अपेक्षा गरिएको छ ।
सडक स्तरोन्नतिपछि कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सहज हुने र किसानको आयआर्जन बढ्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका पूर्वजनप्रतिनिधि विष्णु पोखरेलका अनुसार सडक सुधार भएपछि ढुवानीका साधन बारीबारीसम्म पुग्नेछन् र कुहिएर जाने तरकारी तथा अन्य उत्पादन बजारमा पुर्याउन सहज हुनेछ ।
निर्माण कार्यलाई तीव्र बनाउन स्थानीयवासी पनि सक्रिय भएका छन्। निर्माणका क्रममा आउने समस्या स्थानीय स्तरमै छलफल र समन्वयबाट समाधान गरिँदै आएको जनाइएको छ । रिब्दीकोट गाउँपालिका का अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार स्थानीयवासी, पालिकाका जनप्रतिनिधि र निर्माण कम्पनीबीच सहकार्य गर्दै काम अघि बढाइएको छ ।
हाल सडक चौडा गर्ने, रिटेनिङ पर्खाल निर्माण गर्ने, जग बनाउने, लेभल मिलाउने तथा नाली निर्माण गर्ने कार्य भइरहेको छ । सडकको मापदण्डभित्र पर्ने घरटहरा हटाएपछि कामले अझ तीव्रता पाउने बताइएको छ ।
लुम्बिनी प्रदेश सडक यातायात पूर्वाधार निर्देशनालय, बुटवल का वरिष्ठ इन्जिनियर तथा सूचना अधिकारी अरुण गुप्ताका अनुसार निर्माण कम्पनीसँग २०८४ असोज २६ भित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ ।
सडक स्तरोन्नति कार्यका लागि १६ करोड ३१ लाख १९ हजार रुपैयाँ लागतमा एमएस राजेश्वरी–रमानिया–आरएन्डआर जेभीले काम गरिरहेको छ । निर्माण कम्पनीका साइड इन्चार्ज अरुण ज्ञवालीका अनुसार निर्धारित समयभन्दा करिब छ महिना अगावै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रदेश सरकारले २०७४ सालमै पाल्पा को रामपुरदेखि सल्यान को कपुरकोटसम्म करिब ३१० किलोमिटर दूरीलाई जोड्ने सडकलाई गौरवको आयोजना घोषणा गरेको थियो। तर प्रदेशमा स्थिर सरकार नहुँदा लामो समयसम्म बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन ।
तुलाराम घर्तीमगर ले उक्त सडक पश्चिम पाल्पाको ‘लाइफ लाइन’ भएकाले निर्माण सम्पन्न भएपछि स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन आउने बताए । उनका अनुसार यस सडकले पाल्पासँगै अर्घाखाँची, प्यूठान, रोल्पा र सल्यान का नागरिकलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ ।



