काठमाडौं – जेनजी आन्दोलनका क्रममा अपदस्त भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा बयान दिँदै आपतकालीन अवस्थामा नेपाली सेनाले अपेक्षित सहयोग नपाउँदा राजीनामा दिनुपरेको बताएका छन्।
प्रहरी हिरासतमा रहेका ओलीले सरकारी वकिलसमक्ष आफ्नो इनकारी बयान दिएका हुन्। सो क्रममा उनले भदौ २३ र २४ को घटनालाई नेपाल राष्ट्रविरुद्धको षडयन्त्र भएको दाबी गरेका छन् र सुरुदेखि अन्त्यसम्मका सबै पक्षको निष्पक्ष छानबीन हुनुपर्ने जोड दिएका छन्।
ओलीले अदालतमा भनेका छन् – “प्रधानमन्त्रीले गोली चलाउन आदेश दिने कानून छैन। शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र किन द्वन्द्व सिर्जना भयो भन्नेबारे छानबिन हुनुपर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्किनु हुँदैन। राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्ने सबै घटनाप्रति निष्पक्ष कारबाही हुनुपर्छ।”
उनले आफ्नो बयानमा थपे कि, राष्ट्रको हितमा बोल्दा र काम गर्दा आफूले विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको र अन्ततः सत्ताच्युत गराइएको दाबी पनि गरेका छन्।



