लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारीसाधन करको बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ ।
प्रदेश सरकारले बैठकमार्फत प्रदेशभित्र सङ्कलन हुने सवारीसाधन करको बाँडफाँटसम्बन्धी प्रस्ताव पनि पारित गरेको हो । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार, आगामी आव २०८३/८४ मा स्थानीय तहलाई बाँडफाँट हुने सवारीसाधन करको अनुमानित सीमा रु एक अर्ब ४५ करोड निर्धारण गरिएको छ ।
त्यसैगरी, आगामी आवका लागि स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदानको सीमा निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ ।
बैठकले २०८३ सालका लागि थप सार्वजनिक र पर्व बिदाको व्यवस्था पनि गरेको छ। प्रदेशभर हरितालिका तीज, माघेसङ्क्रान्ति, प्रदेश स्थापना दिवस र वसन्तपञ्चमीमा सार्वजनिक बिदा दिने निर्णय भएको छ । साथै, भूम्या पूजा, बड्का अत्तवारी, भगवती जात्रा र मगर दिवस जस्ता पर्वमा सम्बन्धित समुदायलाई बिदा दिने व्यवस्था गरिएको छ ।
त्यसैगरी, जीवनाशक विषादी निरीक्षकहरूको कार्यक्षेत्र तोक्ने निर्णय पनि बैठकले गरेको छ । वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेलाई रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), अर्घाखाँची, पाल्पा र गुल्मीको कार्यक्षेत्र तोकिएको छ भने अधिकृत एलिजा श्रेष्ठलाई प्युठान, रोल्पा, रुकुमपूर्व, बाँके, बर्दिया र दाङको कार्यक्षेत्र दिइएको छ ।



