इन्धन कटौती र विद्युतीय सवारी प्रवर्द्धनतर्फ काठमाडौँ महानगरको कदम

काठमाडौँ – काठमाडौँ महानगरपालिका को ४८ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । आज काठमाडौँ प्लाजाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा रहेका थिए ।

बैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले सहरी विकास तथा विकास व्यवस्थापनका विषयमा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाबीच समन्वय र सहकार्यका लागि सहज परिस्थिति निर्माण भएको बताए । महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह नेपाल सरकारको प्रधानमन्त्री, सहरी विकास तथा व्यवस्थापनका विज्ञका रूपमा महानगरका काममा संलग्न भएका सस्मित पोखरेल शिक्षा मन्त्री तथा सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभएकोमा उनीहरुले बधाई ज्ञापन गरे । स्थानीय सरकार राम्रोसँग बुझेका व्यक्तित्वहरू संघीय सरकारको नेतृत्वमा रहेकाले समन्वय र सहकार्य सहज हुने उनको भनाइ थियो। यसले काठमाडौँको प्रतिष्ठा बढाएको र समृद्धिका लागि अवसर सिर्जना गरेको उनले बताए ।

बैठकका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ ले ४७ औँ कार्यपालिका बैठकले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे जानकारी गराए ।

महानगरका प्रवक्ता नविन मानन्धरले कार्यालय प्रयोजनका लागि खर्च हुँदै आएको इन्धनमध्ये अत्यावश्यक कार्यमा प्रयोग हुने सवारीबाहेक अन्य सवारी साधनमा दिइँदै आएको इन्धन कटौती गर्ने तथा महँगी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रस्तावलाई बैठकले पारित गरेको छ । कार्यवाहक प्रमुख डंगोलले भूराजनीतिक परिस्थितिका कारण इन्धन आपूर्ति कम भएको उल्लेख गर्दै इन्धनको प्रयोग घटाउने र इन्धनबाट चल्ने सवारीको प्रयोग कम गरी विद्युतीय सवारी साधनको प्रयोग बढाउने निर्णय कार्यान्वयन गरिने बताए ।

बैठकमा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले काठमाडौँ प्लाजाको भोगाधिकार काठमाडौँ महानगरपालिकालाई प्रदान गर्न नेपाल सरकारलाई पत्राचार गर्ने प्रस्ताव राखे । साथै भृकुटीमण्डपको भोगाधिकार प्राप्त गरी बहुउद्देश्यीय भवन निर्माण गर्ने र राष्ट्रिय सभा गृह पुनःनिर्माण गर्ने प्रस्तावसमेत उनले गरेका थिए । यस विषयमा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी पनि तण्डुकारलाई दिइएको छ ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत ले वडा स्तरमा सरसफाइका लागि कर्मचारी अभाव रहेको उल्लेख गर्दै यसको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए । स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन ले काठमाडौँको पार्किङ व्यवस्थापनबारे अध्ययन गर्न सुझाव दिए । वडा नम्बर ६ का अध्यक्ष भुवन लामा ले एम्बुलेन्स सञ्चालन व्यवस्थापन सम्बन्धी कानुन तर्जुमा गर्नुपर्ने बताए ।

वित्त समितिका संयोजक ईश्वरमान डंगोल ले स्वास्थ्य प्रवद्र्धन केन्द्रमा बिहान ८ बजेदेखि प्रयोगशाला सञ्चालन गरी भुक्तानी प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरे । विधायन समितिका संयोजक मचाराजा महर्जन ले पनि बिहान ८ बजेदेखि नियमित रूपमा स्वास्थ्य प्रयोगशाला सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., वडा २७ का अध्यक्ष योगेश खड्गी, वडा १६ का अध्यक्ष रोजिना श्रेष्ठ, वडा ३१ का अध्यक्ष सरोज ढकाल, कार्यपालिका सदस्य बिनोद अछामी तथा वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडा ले विभिन्न प्रस्ताव तथा विषयमा धारणा राख्नुभएको थियो ।

बैठकले विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ स्वीकृत गरेको छ। साथै श्रम बैंक सञ्चालन कार्यविधि, २०८०, पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि, २०७८ र साझेदारी तथा लगानी ऐन, २०७९ संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

त्यसैगरी कार्यस्थलमा हुने लैङ्गिक हिंसा लगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ । होमस्टे दर्ता तथा नवीकरण कार्यविधि, सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, प्रारम्भिक बाल विकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन कार्यविधि तथा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सहर व्यवस्थापन कार्यविधि तर्जुमा गर्न पनि बैठकले सैद्धान्तिक सहमति दिएको छ ।

यसैगरी अस्थायी संरक्षण गृह सञ्चालन सम्बन्धी मापदण्ड तर्जुमा गर्न पनि बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको छ।