सिरहा/सप्तरी – कमला नदी देखि कञ्चनपुर सप्तरी सम्मको सडक विस्तार कार्यमा ढिलासुस्ती हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक चार लेनमा विस्तार गर्ने काम भइरहेको भए पनि पाँच वर्ष बितिसक्दा पनि आयोजना पूरा हुन सकेको छैन । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि काम ढिलिँदा स्थानीयवासी धुलो र हिलोको समस्याबाट प्रभावित भएका छन् ।
सडक निर्माण अधुरै रहेकाले हिउँदमा अत्यधिक धुलो र बर्खामा हिलोका कारण आवतजावत कठिन बनेको छ । यसले सडक छेउछाउका बस्तीमा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ ।
रूपनी का स्थानीय श्याम यादवले धुलोका कारण रुघाखोकीलगायत स्वास्थ्य समस्या बढेको बताए । विद्यालय जाने बालबालिकालाई समेत दैनिक आवतजावतमा समस्या भइरहेको उनले बताए ।
यस्तै कञ्चनपुरका रिझन यादवले पाँच वर्षसम्म पनि सडक विस्तार सम्पन्न नहुनु राज्यका निकायको लापरबाही भएको आरोप लगाए । ढिलासुस्तीका कारण आयोजनाको लागत बढाइएको उनको भनाइ छ ।
सडक विस्तारको ठेक्का चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप ले सन् २०२० जुनमा लिएको थियो । निर्माण कार्य भने सन् २०२० अक्टोबरबाट सुरु गरिएको थियो । सम्झौताअनुसार सन् २०२३ अक्टोबरभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म तीन पटक म्याद थप भइसकेको छ ।
पहिलोपटक १४ महिना, दोस्रोपटक १२ महिना र तेस्रोपटक ६ महिना थप गरी निर्माण अवधि सन् २०२६ जुनसम्म पुर्याइएको छ । भेरिएसन स्वीकृत भएपछि आयोजनाको लागत बढेर करिब १६ अर्ब ८ करोड ५० लाख रुपैयाँ पुगेको छ। यसमध्ये ७१.२२ प्रतिशत ऋण एसियाली विकास बैंक को र २८.७८ प्रतिशत लगानी नेपाल सरकार को रहेको छ ।
आयोजनाको पश्चिमी खण्डका प्रमुख उज्वल श्रेष्ठका अनुसार हालसम्म ७०.७ प्रतिशत भौतिक र ५७.५४ प्रतिशत वित्तीय प्रगति भएको छ । समयमा काम सम्पन्न नगरे ठेक्का तोड्नेसम्मको चेतावनी निर्माण कम्पनीलाई दिइएको उनले बताए ।
त्यस्तै पूर्वी खण्डका प्रमुख निरज शाक्यका अनुसार सो खण्डमा ६७ प्रतिशत भौतिक र ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । पछिल्लो समय महँगी बढेका कारण निर्माण कम्पनीले काम सुस्त बनाएको उनले बताए ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार निर्माण कम्पनीले पछिल्लो समय मुख्य निर्माण कार्य अघि बढाउन सकेको छैन र सामान्य रूपमा पानी छर्किने जस्ता काम मात्रै गरिरहेको छ ।
सडक विस्तार ढिलो हुँदा कठौना, कल्याणपुर, लहान, मिर्चैया र गोलबजार लगायतका बजार क्षेत्र अत्यधिक धुलाम्य बनेका छन् । स्थानीयवासीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनुका साथै अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम पनि बढेको छ ।



