छुटे एमाले अध्यक्ष ओली, अस्पतालबाटै परिवारको जिम्मा लगाइयो

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी पवन कुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो । अब उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकको सल्लाहअनुसार थप निर्णय हुने प्रहरीले जनाएको छ ।

जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते भक्तपुरस्थित गुण्डु निवास बाट पक्राउ गरेको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल मा राखिएको थियो ।

त्यसपछि उनकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत मा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ गतेभित्र टुंग्याउन आदेश दिएको थियो। तोकिएको समयभित्र अनुसन्धान सम्पन्न नभए शर्तसहित रिहा गर्न अदालतले निर्देशन दिएको थियो ।

यसैबीच, प्रहरीले नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।