प्रधानमन्त्रीले सम्बाेधन गर्ने, संसदका अरु कार्यसूची के छन् ?

काठमाडौँ — संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ।

आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

Laxmi sunrise bank 2034

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन्।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने छन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ।