ललितपुर महानगरमा ‘वातावरण भ्यान’ सञ्चालन, सरसफाइ र वातावरण संरक्षणमा कडा निगरानी

ललितपुर – ललितपुर महानगरपालिकाले बिहीबार ‘वातावरण भ्यान’ को शुभारम्भ गरेको छ । कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।

महानगरपालिकाका अनुसार वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत् महानगर क्षेत्रमा अनुगमन र कारबाही अझ सशक्त हुनेछ । यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

भ्यानका कर्मचारीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगको अनुगमन गर्नेछन् । जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित विज्ञापन टाँस्ने र रूखबिरूवा क्षति पुर्‍याउने गतिविधिमा कडाइका साथ कारबाही हुनेछ ।

नगर प्रहरी प्रमुख सताराम हाछेथुका अनुसार, यो पहलले ललितपुरलाई स्वच्छ, हरित र व्यवस्थित महानगरका रूपमा विकास गर्न महत्वपूर्ण योगदान दिनेछ ।