स्टक डिलर कार्यविधिमा नेप्सेको संशोधन, लगानीको दायरा फराकिलो

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजीबजारलाई थप गतिशील, व्यवस्थित र तरल बनाउन स्टक डिलरसम्बन्धी कार्यविधिमा महत्वपूर्ण संशोधन गरेको छ । नेप्सेले ‘धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ मा पहिलो संशोधन गर्दै डिलरहरूको लगानी दायरा फराकिलो बनाएको हो ।

संशोधित कार्यविधिअनुसार अब स्टक डिलरहरूले साधारण शेयरमा मात्र सीमित नभई सरकारी ऋणपत्र, म्युचुअल फण्ड र डिबेन्चरमा समेत कारोबार गर्न पाउने व्यवस्था गरिएको छ। यसका लागि धितोपत्रको परिभाषा विस्तार गरिएको नेप्सेले जनाएको छ । यसले डिलरहरूको लगानी विविधीकरण गर्ने र बजारमा तरलता बढाउने अपेक्षा गरिएको छ ।

कम्पनी छनोटमा लचकता

यसअघि स्टक डिलरहरूले विगत तीन वर्षदेखि लगातार नाफामा रहेका कम्पनीको शेयर मात्र खरिद गर्न पाउने व्यवस्था थियो । नयाँ संशोधनले यो प्रावधान हटाएको छ। यससँगै अब नाफामा नपुगेका तर सम्भावना भएका कम्पनीहरूको शेयरमा पनि डिलरहरूले लगानी गर्न सक्ने भएका छन् ।

यस्तै, विगत एक वर्षको कुल कारोबार दिनमध्ये कम्तीमा ८० प्रतिशत दिन कारोबार भएको हुनुपर्ने व्यवस्था पनि हटाइएको छ । तर, नेप्सेमा सूचीकृत भएको कम्तीमा छ महिना पूरा भएका कम्पनीको शेयर मात्र स्टक डिलरले खरिद गर्न पाउने नयाँ सर्त भने कायम गरिएको छ ।

पूँजी र कारोबार सीमामा परिवर्तन

संशोधित कार्यविधिले स्टक डिलरले लगानी गर्न पाउने कम्पनीको न्यूनतम चुक्ता पूँजीको सीमा बढाएको छ । अब कम्तीमा २५ करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीको शेयर मात्र स्टक डिलरले खरिद गर्न पाउनेछन्, जुन यसअघि २० करोड रुपैयाँ थियो ।

त्यस्तै, स्टक डिलरले दैनिक रूपमा गर्ने खुद (नेट) कारोबार रकम आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशतसम्म पुर्‍याउन पाउने व्यवस्था गरिएको छ । यसले डिलरहरूको सक्रियता बढाउने र बजारमा कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रक्रियागत सरलीकरण

संशोधनले स्टक डिलरको कारोबार प्रक्रिया पनि सरल बनाएको छ । यसअघि डिलरहरूले कारोबार गर्न चाहेका कम्पनीहरूको सूची नेप्सेबाट स्वीकृत गराउनुपर्ने र परिवर्तन गर्दा पनि अनुमति लिनुपर्ने व्यवस्था थियो। अब भने डिलरहरूले आफूले कारोबार गर्ने कम्पनीको जानकारी नेप्सेलाई गराए मात्र पुग्नेछ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं का अनुसार बजारमा तरलता वृद्धि गर्न र जोखिम व्यवस्थापनमा स्टक डिलरको भूमिकालाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको हो । “प्रक्रियागत व्यवस्थालाई सरलीकरण गर्दै स्टक डिलरको क्षमता अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो,” उनले बताए ।

नेप्सेले नेपालमा सञ्चालनमा रहेका दुई स्टक डिलर—नागरिक स्टक डिलर र नबिल स्टक डिलर लाई संशोधित व्यवस्थाबारे औपचारिक जानकारी गराइसकेको छ ।

विश्लेषकहरूका अनुसार यस संशोधनले स्टक डिलरहरूको कार्यक्षेत्र विस्तार गर्नुका साथै बजारमा तरलता वृद्धि गर्ने, नयाँ कम्पनीहरूमा लगानी आकर्षित गर्ने र समग्र पूँजीबजारलाई क्रमशः परिपक्व बनाउने अपेक्षा गरिएको छ ।