काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले कानुन उल्लङ्घन गर्ने जोसुकैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् ।
बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटमा उनले “मेरै बाबुले नै गल्ती गरे पनि छाड्दिनँ” भन्दै अनुहार नहेरी कारबाही गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार सरकारले कानुनको दायरामा ल्याउने कामलाई निरन्तरता दिइरहेको छ ।
गृहमन्त्री गुरुङले केही उच्च तहका व्यक्तिमाथि गरिएको कारबाही अदालतबाट खारेज हुँदा असन्तुष्टि समेत व्यक्त गरेका छन् । विशेषगरी केपी शर्मा ओली लाई पक्राउ गरेर अदालतले छाडेको प्रसङ्ग उल्लेख गर्दै उनले सुरक्षा निकायको मेहनत खेर गएको टिप्पणी गरे ।
उनले पछिल्लो समय कानुनी प्रक्रिया थप बुझ्न आफूले कानून अध्ययन गर्न थालेको पनि बताएका छन् । “अब यस्तो आधार तयार पार्नेछु कि अदालतले पनि छाड्न नसक्ने गरी कारबाही अघि बढाइयोस्,” उनले भने, ।
भीआईपीमाथिको कारबाही सुस्त देखिए पनि त्यसलाई व्यवस्थित र कानुनी रूपमा मजबुत बनाउन काम भइरहेको उनको भनाइ छ । “गल्ती गर्नेलाई कारबाही रोकिँदैन,” भन्दै उहाँले कडाइका साथ कानुन कार्यान्वयन गरिने पुनः दोहोर्याए ।



