ललितपुर — उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत आज रथारोहण सम्पन्न भएको छ ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष तिथिअनुसार मनाइने परम्परा अनुसार यस वर्ष पनि शनिबार रथारोहण गरिएको हो ।
गुठी संस्थान का अनुसार रथ निर्माण कार्य सम्पन्न भएसँगै मच्छिन्द्रबहालबाट देवताको मूर्ति पुलचोक पुर्याई विधिपूर्वक पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।
रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जन का अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत धार्मिक विधिअनुसार पूजा सम्पन्न गरी रथारोहण गरिएको हो ।
परम्पराअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ लैजाने कार्यक्रम रहेको छ।
यससँगै ललितपुरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको जात्राको औपचारिक सुरुवात भएको छ ।



