चितवन — बढ्दो महँगी र इन्धन मूल्यवृद्धिको प्रभावले पूर्वाधार विकास कार्यालय चितवन अन्तर्गत सञ्चालनमा रहेका १२५ वटा ठेक्काका काम प्रभावित भई रोकिने अवस्थामा पुगेका छन् ।
कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार कार्यालयअन्तर्गत २६७ आयोजना रहेकामा २१७ वटा ठेक्का सम्झौतामार्फत सञ्चालनमा छन् । तीमध्ये आधाभन्दा बढी आयोजनामा काम रोकिने जोखिम बढेको उनले बताए ।
इन्धनको मूल्यवृद्धिसँगै निर्माण सामग्री विशेषगरी अलकत्रा (बिटुमिन) अभाव र महँगो हुँदा निर्माण लागत अत्यधिक बढेको छ । “ठेक्का सम्झौता गर्दा रहेको लागत र अहिलेको मूल्यबीच ठूलो अन्तर आएकाले काम अघि बढाउन कठिन भएको छ,” प्रमुख चौधरीले भने ।
निर्माण व्यवसायीहरूले ‘निर्माण होलिडे’ घोषणा गर्न माग गर्दै कार्यालयमा पत्र बुझाइसकेका छन् । यस अवधारणाअनुसार तत्कालका लागि केही आयोजना स्थगित गरी लागत समायोजन वा नीतिगत निर्णयपछि मात्र पुनः सञ्चालन गरिनेछ ।
यसैबीच, उपभोक्ता समितिमार्फत सञ्चालन गरिनुपर्ने ५० आयोजना पनि प्रभावित बनेका छन्। कार्यालयले हाल १९ वटा पुल निर्माणसँगै विभिन्न सडक आयोजना अघि बढाइरहेको जनाएको छ ।
प्रमुख चौधरीका अनुसार वर्तमान अवस्था यथावत रहेमा सुरु गरिएका आयोजनामध्ये ५० देखि ६० प्रतिशतसम्म काम सम्पन्न नहुने जोखिम छ। करिब रु ६७ करोड बजेटमा सञ्चालन भइरहेका यी आयोजनाको भविष्य सरकारी निर्णयमा निर्भर रहने बताइएको छ ।
उता निर्माण व्यवसायी सङ्घ चितवन का महासचिव पुष्कर अधिकारीले अहिलेको लागतमा काम गर्न सम्भव नभएको स्पष्ट पार्नुभयो। उहाँले महँगीअनुसार बजेट समायोजन वा ‘निर्माण होलिडे’ घोषणा गरी राज्यले निर्माण व्यवसायीलाई राहत दिनुपर्नेमा जोड दिए ।
महँगीको निरन्तर दबाबले विकास निर्माण क्षेत्र नै संकटतर्फ धकेलिँदै गएको भन्दै सरोकारवालाहरूले समयमै नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।



