कांग्रेस अनुशासन समितिको ‘यू–टर्न’: पूर्णबहादुर खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने

काठमाडौँ — नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।

सोमबार दिउँसो सानेपास्थित पार्टी कार्यालयमा बस्ने समितिको बैठकले यसअघि सोधिएको सात दिने स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने स्रोतले जनाएको छ । समितिले गत चैत २ गतेको बैठकबाट खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर, अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएपछि उक्त स्पष्टीकरणको औचित्यता समाप्त भएको निष्कर्ष निकाल्दै फिर्ता लिन लागिएको बताइएको छ ।

यसअघि खड्काले अनुशासन समितिको निर्णयलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका थिए। उनले उक्त निर्णयलाई निरर्थक, हास्यास्पद र अर्थहीन भन्दै सार्वजनिक रूपमा आलोचना गरेका थिए ।

समितिको पछिल्लो कदमले पार्टीभित्रको विवाद केही हदसम्म साम्य हुने अपेक्षा गरिएको छ ।