काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ विरुद्ध लागेका आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले आरोपलाई ढाकछोप गरिएमा जनविश्वास र सुशासनमा गम्भीर आघात पुग्ने चेतावनी दिएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसे द्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपहरूको “उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन तुरुन्त प्रारम्भ गर्नुपर्ने” उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “ढिलासुस्ती वा प्रभावमा पार्ने प्रयासले सुशासन, नैतिकता र जनविश्वास कमजोर बनाउँछ ।”
कांग्रेसले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएको भन्दै गम्भीर प्रश्नहरूको निष्पक्ष छानबिन अपरिहार्य रहेको जनाएको छ ।
यसअघि पनि कांग्रेस केन्द्रीय कार्यसमितिले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो ।
हाल गृहमन्त्रीसँग जोडिएको पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामाथि प्रश्न उठाएको भन्दै छानबिन प्रक्रिया प्रभावमुक्त बनाउनुपर्ने कांग्रेसको जोड छ ।



