रास्वपाले घटायो सांसदहरूको लेबी, अब कति ?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूका लागि तोकिएको लेबी (पार्टी शुल्क) परिमार्जन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सचिवालयले गरेको लेबी परिमार्जनसम्बन्धी निर्णय अनुमोदन गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ। यसअघि सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ लेबी तोकिएको थियो ।

मन्त्रीहरूको लेबी भने यथावत राखिएको छ। यसअघि निर्धारण गरिएअनुसार मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ नै बुझाउने व्यवस्था कायम राखिएको छ।

त्यस्तै, मन्त्रीका स्वकीय सचिवहरूको लेबी पनि परिवर्तन गरिएको छैन। उनीहरूका लागि मासिक २ हजार रुपैयाँ लेबी यथावत राखिएको छ । पार्टीले जनाएको अनुसार, सांसदहरूले पनि स्वकीय सचिव राख्न पाएको खण्डमा उनीहरूका लागि पनि सोही दरअनुसार २ हजार रुपैयाँ लेबी लाग्नेछ ।

रास्वपाले संगठनात्मक व्यवस्थापनलाई व्यवस्थित बनाउन लेबी संरचनामा समयानुकूल समायोजन गर्दै आएको जनाएको छ।